खेलकुद

उच्च मनोबलका साथ जितने लक्ष्य सहित नेपाल इरान संग खेल्दै

भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४.१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा म्यानमारविरुद्ध ३(० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २/१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । अंक तालिकामा नेपाल ३ अंक बोकेर दोस्रो स्थानमा छ ।

टोलीका प्रशिक्षक हरि खड्काले भारतलाई पराजित गरेपछि अन्तिम खेलमा इरानविरुद्ध पनि जितको लागि खेल्ने बताएका थिए । ‘भारतविरुद्ध ऐतिहासिक जितले मनोबल बढेको छ, अब अन्तिम खेलमा हामी इरानसँग जित दर्ता गरेर फाइनल पुग्ने लक्ष्य राख्ने छौं,’ उनले भने । फरवार्ड सावित्रा भण्डारीले पनि कडा मिहिनेत गर्दै फाइनल पुग्ने लक्ष्य प्राप्त गर्ने बताएकी थिइन् ।

अंक तालिकामा म्यानमार ६ अंक बोकेर शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत तेस्रोमा छ । दुवै खेलमा पराजित इरान अंकविहिन रहँदै पुछारमा छ । नेपालले इरानलाई पराजित गरेको खण्डमा अर्को चरण पुग्ने सम्भावना लगभग पक्का हुनेछ ।

यद्यपी म्यानमार र भारतको खेलमा गणितीय समीकरणका कारण नेपालले जित दर्ता गरेपनि फाइनल पुग्ने शत प्रतिशत सम्भावना भने रहन्न । नेपालले इरानविरुद्ध बराबरी खेलेर भारत र म्यानमारको खेल बराबर वा म्यानमारको जित भएको खण्डमा भने नेपाल फाइनलमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *