समाचार

फस्टाउँदो अवैध हुण्डी

काठमाडौ‌– राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको करिव ३० प्रतिशत अर्थात् रु.२ खर्ब २० अर्ब रकम हुण्डी लगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । पछिल्लो समय हुन्डीको कारोबार झनै बढेको विभिन्न तथ्याङ्कबाट खुलेको छ ।

गत पुस ९ गते प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट ३५ लाख रकम सहित सोलुखुम्बुका भरतबहादुर बस्नेत र काठमाडौंका शंकर श्रेष्ठ हुन्डी कारोबारको आरोपमा पक्राउ गरेको थियो ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार, गत साउनमा पनि महाशाखाले चलाएको दुई वटा अपरेशनमा दुई जना हुन्डी कारोबारी पक्राउ परेका थिए । महाशाखाको तथ्याङ्क अनुसार, चालु आर्थिक बर्षको पुस मसान्तसम्म मात्र प्रहरीले ३ वटा घटनामा चार जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७१ लाख बढी रकम बरामद् गरिएको छ ।

महाशाखाको तथ्याङ्क अनुसार, पछिल्लो ३ वर्षको अवधिमा ४२ वटा घटनामा ५४ जना हुन्डी कारोबारी पक्राउ परे । राजस्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीका अनुसार गएको आर्थिक वर्षमा विदेशी विनिमय अपचलनका ७६ वटा मुद्दा विभागमा दर्ता भएका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै पनि ४५ वटा मुद्दा दर्ता भइसकेका छन् ।

गैरकानूनी हुन्डी कारोबारमा वैध च्यानल प्रयोग

गत जेठ २२ गते राजस्व अनुसन्धान विभागले काठमाडौंको गोङ्गबुमा रहेको रेमिट्यान्स कम्पनी रिलायन्स सब रेमिटले विदेशबाट गैरकानूनी रूपमा रकम भिœयाउने हुन्डी कारोबार गरिरहेको दाबीसहित सञ्चालक गोविन्द सुब्बालाई नियन्त्रणमा लियो ।

विभागका महानिर्देशक मैनाली भन्छन्– अनुसन्धान गर्दै जाँदा सो कम्पनीले हुण्डीमार्फत भित्रिएको रु.३ करोड ६६ लाख आन्तरिक रेमिट्यान्स च्यानलबाट सम्बन्धित व्यक्तिलाई पठाएको तथ्य फेला परेको थियो ।

त्यो कम्पनीले प्रभु मनी ट्रान्सफर, नबिल रेमिट, हिमाल रेमिट, वेस्टर्न यूनियन मनी ट्रान्सफरको एजेन्टका रूपमा काम गर्दै आएको थियो । त्यस्तै विभागले गत कात्तिक २९ गते मात्र जनकपुरको जानकी इम्पेक्स मनी ट्रान्सफर र विभास मनी ट्रान्सफरका पाँच सञ्चालक विरुद्ध हुन्डी कारोबारको आरोपमा मुद्दा दायर गरेको थियो ।

२५ लाख रकमसहित पक्राउ परेका उनीहरू विरुद्ध विभागले १३ करोड ७७ लाख बिगो दाबी गरेको छ । यी दुवै मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनी ट्रान्सफर, हिमाल रेमिट, नबिल रेमिट, रिलायबल रेमिट (आई पे), प्रभु मनी ट्रान्सफर र बेस्ट रेमिट कम्पनीको एजेन्टका रूपमा काम गर्दै आएका थिए ।

यी दुई घटनाबाट गैरकानूनी हुण्डी कारोबारमा रेमिट्यान्स कारोबार गर्ने अनुमतिप्राप्त वैध च्यानलको प्रयोग भइरहेको पुष्टि हुन्छ । विभागका महानिर्देशक दीर्घराज मैनाली पनि आन्तरिक रेमिट्यान्सका च्यानल प्रयोग गरेर हुने हुण्डी कारोबार विदेशमा रहेका नेपालीसँगको मिलेमतोमा हुँदै आएको स्वीकार्छन् ।

पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतलगायतका देशमा मात्र नभई खाडी मुलुकहरूमा समेत हुण्डी कारोबारलाई आन्तरिक रेमिट्यान्स च्यानलसँग जोड्ने क्रम बढेको छ ।

अपराध महाशाखाका एसएसपी सिंहका अनुसार हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, ट्राभल एजेन्सीहरू समेत संलग्न देखिन्छन् । राजस्व अनुसन्धान विभागले काठमाडौंमलस्थित जेबु टुर्स एण्ड ट्राभलले हुण्डी कारोबार गरिरहेको दाबीसहित १२ भदौ २०७४ मा रु.४ अर्ब १४ करोड बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । यो घटनाबाट पनि हुन्डीमा ट्राभलको समेत हात रहेको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *