खेलकुद

आईपीएल: बैङलोरलाई हराउदै दिल्ली क्वालिफायरमा

काठमाडौं, कात्तिक १८ । दिल्ली क्यापिटल्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । समुहचरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ६ विकेटले हराउदै दिल्लीले क्वालिफायर वानमा स्थान सुरक्षित गरेको हो । हारका बावजुत बैङलोरले पनि तेस्रो स्थानमा रहदै प्लेअफमा स्थान सुरक्षित गर्यो ।

१४ खेलबाट दिल्ली १६ अंकमा तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । कोलकत्तासंग समान अंक भएपनि रनरेटमा अघि रहदै बैङलोरले अघिल्लो चरणमा स्थान बनाएको हो । दिल्लीले १७ दशमलव ३ ओभरमा खेल जितेको भए कोलकत्ताको रनरेट उच्च हुने थियो । भोली हुने खेलमा मुम्बईले बैङलोरलाई हराए कोलकत्ता प्लेअफमा प्रबेश गर्नेछ । हैदरावादले जित निकाले रनरेटका कारण कोलकत्ता बाहिरिनेछ ।

बैङलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले ६ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा अजक्थ्या रहानेले सर्बाधिक ६० र शिखर धवनले ५४ रनको योगदान गरे । ओपनर पृथ्वी शँ ९ र कप्तान श्रेयस ऐर ७ रनमा पभेलियन फर्किए । मार्कुस स्टोईनिस १० र रिषब पन्त ८ रनमा अबिजित रहदै टोलीको जित निश्चित पारे । बैङलोरका सहबाज अहमदले २ तथा वासिन्टन सुन्दर र महम्मद सिराजले समान १ विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको दिल्लीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रनको सम्माजनक योगफल तयार पारेको थियो । देवदत्त पाडीक्कलले सर्बाधिक ५० रन बनाएको बैङलोरको ईनिङसमा एबी डिभिलियर्सले ३५ र कप्तान बिराट कोहलीले २९ रन बनाए । शिभम दुबेले १७ र जोस फिलिप्पेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३, कासीगो रावाडाले २ तथा रबिचन्द्रन आश्विनले एक विकेट लिए । डिभिलियर्स रनआउट भएका थिए ।