स्वास्थ्य

नगर प्रमुख आचार्य कोरोनामुक्त, थप स्वास्थ्य उपचारकालागि अझै केहि दिन अस्पतालमै रहने

मेचीनगर, कात्तिक १८ । भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर प्रमुख विमल आचार्य कोरोनामुक्त हुनु भएको छ । आज प्राप्त स्वाब परीक्षणको नतिजामा प्रमुख आचायको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

उहाँको केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्रोड स्वाव नमूना संकलन गरेको थियो । मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि थप स्वास्थ्य उपचारकालागि नगर प्रमुख आचार्य अझै केहि दिन अस्पतालमै रहनु हुने बताइएको छ ।

उहाँको फोक्सो र छातीको सिट स्क्यान गरिएको र त्यसको रिपोर्टमा संक्रमण कम देखिएको र क्रमस सुधार आएको अस्पतालले जनाएको छ ।

नगर प्रमुख आचार्यमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै बस्नु भएको उहाँको थप स्वास्थ परीक्षणका लागि कात्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

विराटनगरमा अपेक्षीत सुधार नआएपछि गत कात्तिक ११ गते भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो ।

मंगलवार मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन वराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितको टोलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको थियो ।

भेटमा नगर प्रमुख आचार्यले भन्नुभयो, “अहिले मलाई धेरै राम्रो छ , डक्टरले एकसातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएको छ, “अहिले छाती र फोक्सोमा संक्रमण रहेछ क्रमश सुधार हुने चिकित्सकले बताएका छन् “।

भेटमा आचार्यले अस्पतालले आफ्नो उपचारमा कुनै कुराको कमि हुन नदिएको बताउनु भयो ।

नगरप्रमुख आचार्यको किन्स अस्पतालका चिकित्सक डक्टर शेखर चक्रवर्ती नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।