स्वास्थ्य

झापाका तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु

झापा, माघ १४ तीन वटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनि अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका हुन् ।

तीन वटै स्वास्थ्य केन्द्रमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी खोप लगाउन सुरु गरेको बताइएको छ । मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डाक्टर मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गरेका थिए ।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाई, तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप भद्रपुरका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराई र पाँचौँ खोप अस्पतालका ल्याब टेक्निसियन रमेश भण्डारीले लगाएका थिए । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले उनीहरूलाई खोप लगाएका थिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलका अनुसार झापामा ११ हजार डोज खोप प्राप्त भएको जानकारी दिए ।