अर्थ

३० बर्षदेखि भक्का बेचेर नै परिवारको गुजारा

युवराज आचार्य
झापा, माघ २० ।
जाडो सुरु भएदेखि नै तराईका जिल्लाहरुमा भक्काको व्यापार सुरु हुने गर्दछ । त्यसमा पनि बिशेषगरी झापा, मोरङ लगायतका गाउँ, शहर र चोक चोकमा भक्काको व्यापार हुने गर्दछ । जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । जाडोमा भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् ।

भक्का चामलको पिठोबाट बनाइने परिकार हो । भाँडामा उमालिएको पानीको वाफबाट पिठो पाकेपछि तयार हुने भक्का बच्चादेखि वृद्धासम्म सबैका लागि स्वस्थकर मानिन्छ ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ निवासी फुलश्वरी राजवंशीले ईटाभट्टा चौकमा बिगत ३० वर्षदेखि भक्का बेच्दै आएकी छिन् । ७० वर्षीया राजवंशीले भक्का बेचेर नै आफ्ना परिवारको गुजरा चलाउदै आएकी छिन् । छोरी ज्वाईसंग बस्दै आएकी उनले बाह्रै महिना भक्का बेचेर उनको श्रीमान् सहित ८ जनाको परिवारको गुजारा चल्दै आएको बताईन् । उनले भनिन् म र श्रीमान् भक्का बेच्न जान्छौ ज्वाईले अन्य काम गर्छन् । हामी मिलेर घर व्यवहार चलाउछौं ।

बिहान ५ बजेदेखि जाडो पनि नभनी भक्का बेच्दै आएकी उनकोमा बिहान कलेज र स्कुल जाने विद्यार्थीको भीड लाग्ने गरेको छ । मर्निङ वाक गर्नेहरुले पनि त्यत्तिकै मात्रामा भक्का खाने गरेको उनि बताउछिन् । उनि भन्छिन् कति त भक्का खान र परिवारलाई समेत लैजान धेरै टाडा टाडाबाट पनि आउने गरेको छन् ।

राजवंशीले बिहान र दिउसो गरेर दुई सिफ्टमा भक्का बेच्ने गरेकी बताईन् । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउसो ३ बजेदेखि ५ बजेसम्म । प्रतिगोटा १० रुपैयाँ पर्ने भक्का दैनिक बाह्र देखि पन्द्र सय रुपैयाँ सम्म बिक्री हुने राजवंशी बताउँछिन् । दैनिक खर्च कटाएर पाँच देखि सात सय रुपैयाँ भन्दा बढी बचत हुने बताउदै राजवंशीले भनिन् यसबाट नै घरपरिवार चलेको छ ।

जाडो मौसममा तराई क्षेत्रमा फस्टाउदै गएको भक्का व्यवसायले धेरैलाई घर परिवार चलाउन मदत पुगेको छ । साथै भक्का व्यवसायले बिशेषगरी तराई जिल्लाका धेरै महिलाहरुलाई आत्मनिर्भर पनि बनाएको छ ।