राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुन्छः नेता भुसाल

झापा, माघ २४ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने चेतावनी दिएका छन् ।

शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण उक्त स्थिति श्रृजना हुने उनको भनाइ थियो ।

अबको विकल्प कि प्रतिनिधिसभा पुनर्स्थापना कि सर्वनाश मात्र भएको नेता भुसालले बताए । उनले भने, ‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश ।’ प्रतिनिधिसभा पुनर्स्थापना नभए देश सर्वनाशको अवस्थामा जाने भुसालको भनाइ थियो ।

अब २० दिन भित्रमा अदालतको फैसला आउने र प्रतिनिधि सभा पुनर्स्थापना नभए त्यसपछिका दिन सर्वनाशको अवस्थामा पुग्ने उनले बताए ।