समाचार

संसद विघटनको मुद्दाः आजबाट ‘एमिकस क्युरी’को बहस

काठमाडौं, फागुन ४ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलवार आजबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुने भएको छ ।

सोमवार (हिजो) विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै आजबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो ।

अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका छन् ।

आजबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि उक्त मुद्दाको फैसला आउनेछ । रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस अनुमोदन गरी निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसको विरुद्द सर्वोच्चमा १३ वटा रिट निवेदनहरु परेको थियो । त्यसको माघ ४ गतेबाट निरन्तर बहस भइरहेको थियो ।