खेलकुद

आईपीएलमा सन्दीप किन बिकेनन् ?

काठमाडौं, फागुन ९ । इतिहास रच्दै सन् २०१८ को आईपीएलमा नेपाली किशोर सन्दीपले इन्ट्री मारेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष मात्र थियो । दिल्लीले उनलाई न्यूनतम मूल्य २० लाख भारुमा खरीद गर्दा नेपालमा निकै हल्लाखल्ला भयो ।

सन्दीपले अन्तर्राष्ट्रिय टी२० फ्रेन्चाइजमा प्रवेश गरेको पहिलो वर्ष एकप्रकारको सनसनी नै मच्चाएका थिए । हरेक देशका टुर्नामेन्टमा उनी चम्किए । तर, त्यसपछिका वर्षहरूमा भने उनको चार्म कम भएको थियो । २०१८ देखि अहिलेसम्म आइपुग्दा सन्दीपले आफूलाई थप निखार्न चुकेकै हो ।

आईपीएलमा सन्दीप अनसोल्ड रहनुका तीन सम्भावित कारण हुन सक्छन् । पहिलो भनेको उनको जुन विधा छ, त्यसमा भारतीय खेलाडीहरू नै पोख्त छन् । स्पिन बलिङमा भारतीय क्रिकेटरहरू विश्वमै अगाडि मानिन्छन् । त्यही भएर फ्रेन्चाइजहरूले आफ्नो टिम बनाउँदा स्पिनरमा भारतीय खेलाडी नै राख्न चाहन्छन् । ओभरसिज कोटामा फास्ट बलर वा विज्ञ ब्याट्सम्यान रोजेको पाइन्छ । त्यसैले पनि सन्दीपलाई टिमहरूले बेवास्ता गरेका हुनसक्छन् ।

दोस्रो कारण भनेको ब्याटिङमा सन्दीप शून्यप्रायः छन् । ब्याटिङ गर्न नसक्ने बलर र ब्याटिङ पनि अलिअलि गर्ने बलर हुँदा टिममा धेरै फरक पर्छ । कहिलेकाहीं अन्तिममा आउने ब्याट्सम्यानले पनि जित–हारमा भूमिका खेल्नुपर्छ । यो पक्षमा सन्दीपको कमजोरी छ ।

तेस्रो चाहिं प्रदर्शनमा अपेक्षित सुधार नआउनु पनि हो । पछिल्लो दुई वर्ष सन्दीपको प्रदर्शन औसतभन्दा माथि उक्लिन सकेको छैन । सम्भवतः उनको बलिङ प्रायः ब्याट्सम्यानहरूले बुझ्न थालिसकेकाले पनि हुनसक्छ । त्यसैले सन्दीपका लागि आफ्नो बलिङमा थप विविधता जरूरी देखिएको छ ।

सन्दीपले नखेल्ने भएपछि आगामी संस्करणको आईपीएलको समग्र चर्चा नेपालमा कम हुने पक्का छ । सन्दीप विनाको आईपीएल नेपालीले हेर्दै हेर्दैनन् भन्ने होइन, तर कमले हेर्छन् ।

आईपीएल अक्सनको ठीक अगाडि सन्दीपले अष्ट्रेलियामा बिग बास लिग ९बीबीएल० खेलेका थिए । लगातार तेस्रो पटकको बिग बासमा उनको प्रदर्शन ठीकठीकै थियो, तर उत्कृष्ट होइन । यदि बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेको भए सन्दीपलाई आईपीएल फ्रेन्चाइजहरूले पक्कै नजरअन्दाज गर्न सक्दैनथे ।

पछिल्लो समयमा अपेक्षित प्रदर्शन गर्न नसकेको महसूस भएरै हुन सक्छ, सन्दीपले आईपीएलको अक्सनमा आफूलाई महत्वाकांक्षी रूपमा प्रस्तुत गरेका थिएनन् । उनले केवल ४० लाख भारु बेस प्राइस राखेका थिए । उनको स्तरको खेलाडीका लागि आईपीएलमा यो निकै कम मूल्य हो । तीन वर्षसम्म २० लाखमै खेलेका उनले कम्तीमा एक करोड सहजै पाउन सक्ने अनुमान थियो । तर, सन्दीपका लागि ४० लाख खर्चिन पनि कुनै टीम तयार भएनन् ।