राजनीति

समस्याको निकास नयाँ निर्वाचन : कमल थापा

काठमाडौं, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको समस्याको निकास नयाँ निर्वाचन भएको बताउनुभएको छ ।

राप्रपा ५ नम्बर क्षेत्रीय समिति झापाले शनिबार गौरीगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अदालतको फैसला पनि प्रतिनिधि सभा विघटनको पक्षमा नै आउने संकेत देखिएको बताउनुभयो ।

फैसला निर्वाचनमा जाने पक्षमा आउने सम्भावना बढेर गएकोले निर्वाचनको तयारीमा जुट्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपा भित्रको विवादको कारण प्रतिनिधि सभा विघटन भए पनि अब विघटित प्रतिनिधि सभा पुर्नस्थापनाले निकास नदिने उहाँको भनाइ छ । थापाले भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादी चरित्रको अन्त्यको लागि ताजा जनादेश उपयुक्त हुने बताउनुभयो ।

सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दू राष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने पनि उहाँको भनाइ छ । स्वार्थ र शक्तिको फोहोरी खेलले देशमा वैदेशीक हस्तक्षेप बढेको उहाँले बताउनुभयो ।