संघ \संस्था

मेलम्ची सुरुङ आज पुनः परीक्षण गरिंदै, सफल भए नियमित पानी आउने

काठमाडौं, फागुन १० । बहुप्रतिक्षित मेलम्ची मेलम्ची खानेपानी आयोजनाको सुरुङ आजदेखि पुनः परीक्षण गरिने भएको छ ।

काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ स्थित साे आयाेजनाकाे सुरूङ दाेस्राे पटक परीक्षण गर्न लागिएकाे हाे ।

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार आज बिहान ११ बजेबाट पानी भर्न थालिनेछ । खानेपानीमन्त्री मणि थापाले आयोजनाको हेडवर्क्स (मुहान) मा पुगेर पानी भर्ने कामकाे उद्घाटन गर्नुहुनेछ ।

सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले जनाएकाे छ । सुरुङको परीक्षण सफल भएपछि नियमित रुपमा मेलम्चीको पानी काठमाडाैं आउने पनि मन्त्रालयले जनाएकाे छ ।

यसअघि ०७७ असार २१ गते सुरूङमा पानी पठाइएकाे थियाे । तर असार ३० मा सुरुङभित्र रहेकाे १७ नम्बर गेट(अम्बाथानको अडिट टनेलको गेट) पानीकाे चापले भत्किँदा पानी बाहिर निस्केको थियाे । त्यसक्रममा भएकाे दुर्घटनामा एक जनाको ज्यान गएकाे थियाे ।

विज्ञहरूका सुझावकाे आधारमा मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिएकाले परीक्षण सफल हुने मन्लायलकाे विश्वास छ । सिन्धु, अम्बाथानको ग्याल्थुम र सुन्दरीजलमा हाइड्रोमेकानिकल गेट जडानको सकेरपछि पानी हाल्न लागिएको हो ।