संघ \संस्था

निर्वाचन आयोगले वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढायो

काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढाएको छ । आयोगले मंगलबार निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै चुनावी प्रक्रिया अगाडि बढाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले आवश्यक बजेटको व्यवस्था गरेर निर्वाचनकाे तयारीमा जुटेकाे जानकारी दिए । उनले तोकिएको मितिमा निर्वाचन गर्न आयाेग प्रतिबद्ध रहेको बताए ।

आयोगले २८ प्रकारका सामाग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ । जसमा छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिन रहेका छन् ।

आयोगले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने जनाएको छ ।

केहीदिन अगाडि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले निर्वाचन आयोगले चुनावको तयारीमा आलटाल गरिरहेको भन्दै असन्तुष्टी जनाएका थिए । उनले आफूले आयोगमा पुगेर निर्वाचनको तयारी गर्न निर्देशन दिए पनि सोअनुसार काम नभएको असन्तुष्टी  जनाएका हुन् । यस्तै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले तोकिएकै मितिमा निर्वाचन गर्ने बताइसकेका छन् ।