खेलकुद

रोनाल्डो चम्किँदा युभेन्टसको सहज जित

काठमाडौं, फागुन ११ । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई आफ्नै मैदानमा ३–० गोलले हराएको हो ।

युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन एमकेनीले एक गोल गरे । खेलको ३८औँ मिनेटमा एलेक्स सान्द्रोले पास मिलाइदिँदा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा आरोन राम्सेको पासमा दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । खेलको ६६औँ मिनेटमा एमकेन्नीले गोल गरेपछि युभेन्टसले ३–० गोलको सहज जित निकालेको हो ।

जितसँगै युभेन्टस शीर्ष तीनमा उक्लिएको छ । उसले २२ खेलमा ४५ अङ्क जोडेको छ । शीर्ष स्थानको इन्टर मिलानभन्दा आठ अङ्कले पछि परेको छ । २३ खेल खेलेको इन्टरसँग ५३ अङ्क छ । क्रोटोन भने १२ अङ्कका साथ पुछारमा छ ।