खेलकुद

बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी

काठमाडौं, फागुन १२ । लाजियोमाथि फराकिलो अवे जितका साथ साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो ।

लाजियोको घरेलु मैदानमा बायर्नका रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमै गोलको खाता खोलेका थिए । उनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि तेस्रो स्थानमा पुगेका छन् ।

२४ औं मिनेटमा जमाल मुसियालाले गोल गरे । १७ वर्षीय मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । ४२ औं मिनेटमा लेरोय सानेले गोल गरेपछि पाहुना टोलीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै फ्रान्सिस्को असर्बीले आत्मघाती गोल गरेपछि बार्यनले ४–० को अग्रता बनायो । ४९ औं मिनेटमा घरेलु टोलीका लागि एड्रियानो कोर्रियाले एउटा सान्त्वना गोल फर्काए । बाँकी समयमा प्रयास गरे पनि जालियोले हारको अन्तर कम गर्न सकेन । दुईबीचको दोस्रो लेगको खेल मार्च १८ मा एलियान्ज एरिनामा हुनेछ ।

अर्को खेलमा चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को अवे जित निकाल्यो । कोरोना मापदण्डका कारण रोमानियाको बुचारेस्टस्थित स्वतन्त्र रंगशालामा भएको खेल एट्लेटिको मड्रिडका लागि होम खेल थियो ।

ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिकोले ६८ औं मिनेटमा ओलिभर जिरोडको शानदार ओभरहेड किकमार्फत गोल खान पुग्यो । चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलोपल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने योजनामा छ । यी दुइबीचकाे अर्काे लेग मार्च १८ मा स्टाम्फाेर्ड ब्रिजमा हुनेछ ।