राजनीति

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओलीपक्षको निर्णय

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताए ।

ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताए ।

आजै प्रचण्ड-माधव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ ।

अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।