संघ \संस्था

एरिया ए सम्मेलन असोज ६ र ७ गतेदेखि इनरुवामा हुँदै

बाहुण्डाँगी असोज २ । नेपाल जेसीजको वार्षिक क्षेत्रीय सम्मेलन अन्तर्गत एरिया ए सम्मेलन यहि असोज ६ र ७ गते इनरुवामा हुँदैछ ।
इनरुवा जेसीजले आतिथ्यता गर्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यस अघि असोज ८ र ९ गते हुने भनिए पनि नेपाली कांग्रेसको देशभर नगर अधिवेशन ९ गते हुने मिति सार्वजनिक भएपछि दुई दिन अघि सरेको हो । यो सम्मेलन नेपाल जेसीजको यस वर्षका लागि अन्तिम सम्मेलन समेत हो । अन्य ३ वटा सम्मेलन यस अघि सम्पन्न भइसकेका छन् । सम्मेलनमा सहभागि हुन यस क्षेत्रका ४१ वटा शाखाका अध्यक्षसहित पदाधिकारी, नेपाल जेसीजका अफिसर, अन्य क्षेत्रका शाखा अध्यक्ष तथा पूर्व पदाधिकारीहरुको सहभागिता रहने सम्मेलन शाखा अध्यक्ष सम्यम कोइरालाले बताउनु भयो । अध्यक्ष कोइरालाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै सम्मेलन सम्पन्न गर्ने र त्यसका लागि स्थानीय प्रशासनसँग अनुमति लिइसकेको बताउनु भयो ।
यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहालले सम्मेलनमा उत्साहपूर्वक सहभागिता रहने बताउनु भयो । कोभिडका कारण लामो समय कार्यक्रममा सहभागि हुन नपाइरहेको अवस्थामा यस क्षेत्रका लागि यो सम्मेलन एक अर्कामा परिचितसहित आगामी योजना निर्माण गर्ने माध्यम बन्ने बताउनु भयो । सम्मेलनमा अहिलेसम्म भएका शाखाका गतिविधि, आगामी योजना र महाधिवेशन तयारीका विषयमा घनिभूत छलफल हुने सिनेटर दहालले बताउनु भयो ।

सम्मेलनको उदघाटन नेपाल सरकारका न्याय कानुन तथा संघीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष कोइरालाले बताउनु भयो ।
यसैगरी, सुनसरी पाटी सभापति तथा शाखाका १९९६ का अध्यक्ष राजिप कोइराला, संस्थापक सदस्य तथा वर्तमान संघीय सांसद सिताराम मेहेता, २००६ का अध्यक्ष तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहेताको समेत सहभागिता रहने सम्मेलनका निर्देशक चन्दन यादवले बताउनु भयो ।