शिक्षा

सञ्चारकर्मी माथिको मुद्दा फिर्ता, विद्यालयद्वारा गल्ती स्विकार

नरेन इलामेली
इलाम असोज २ ।
सगरमाथा टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ इलामका सदस्य विनु खँड्का माथि लागेको मुद्दा फिर्ता भएको छ । केही दिन अघि इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ स्थित शिवमाई माध्यमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको भन्दै कोरोना महामारीका बेला विद्यालय बन्द रहेको अवस्थामा पनि कक्षाकोठा तथा शौचालय खुल्ला रहेको र कक्षाकोठामा  बर्षाको भल समेत पसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई आधार बनाएर विद्यालय व्यवस्थापन समितिले पत्रकार खँड्का विरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी हालेको थियो ।

सोही विषयलाई लिएर शनिवार विद्यालयमा आयोजित भेलाले मुद्दा फिर्ता लिने सहमति गरेको हो ।  माइजोगमाई गाउँपालिकाको न्यायिक समिति सदस्य तथा १ नं वडाका वडा अध्यक्ष याम कार्कीको रोहबरमा सम्पन्न भेलामा विद्यालय व्यव्स्थापन समिति नेपाल  पत्रकार महासंघका प्रतिनिधी, स्थानिय बुद्दिजिवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यता विद्यालय व्यवस्थापन समितिले भने आफूहरु मुद्दा प्रक्रियामा जानु गतल भएको स्विकारेको छ । तर कोरोना महामारीका कारण विद्यालयको व्यवस्थापनमा केही कमजोरी भएको भए समाजिक सञ्जालमा फोटो पोष्ट गर्नु भन्दा  समितिका पदाधिकारीलाई मौखिक जानकारी गराएको भए उपयुक्त हुने दावी गरेको छ ।

भेलामा विद्यालय व्यवस्थापन समितिले आजबाट उक्त मुद्दा पूर्ण रुपमा निष्क्रिय भएको र आगामी दिनमा उक्त मुद्दा नउठाइने प्रतिबद्धता व्यक्त गरेको छ भने सञ्चारकर्मी खँड्काले पनि विद्यालयका सकारात्मक तथा नकारात्मक हरेक कुराहरु उठाउँदै विद्यालय सुधारका लागि रचनात्मक सहयोग गर्ने बताएका छन् ।