संघ \संस्था

केन्द्रले छवटा ठूला विवादमा काम गर्ने

मेचीनगर, असोज ६ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजनामा छैटौँ चरणको कार्यक्रम अन्तर्गत सम्वाद समूहको बैठक बुधबार चन्द्रगढीमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति झापाको समन्वयमा भएको बैठकमा जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका प्रमुख तथा प्रतिनिधिबीच छलफल भएको हो । द्वन्द्व रुपान्तरण केन्द्रको बैठक एक÷एक वर्षमा हुने गरेको छ ।

केन्द्रको कार्यक्रम अहिले छैटौँ चरणमा चलिरहेको राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले बताइन् । सन् २०२० अक्टोवरदेखि सुरु कार्यक्रम २०२२ सेक्टेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । स्रोतव्यक्ति थापाका अनुसार झापामा केन्द्रले कम्तिमा ६ वटा ठूला विवादमा काम गर्नेछ । यस्तै, सामुदायिक मेलमिलाप क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले विगतदेखि नै जल, जमिन र जंगलको क्षेत्रमा उत्पन्न विवादहरु समुदायको प्रत्यक्ष सहभागितामा समाधान गर्दै आएको छ । वर्षौँदेखि कचल्टिएर रहेका विवादहरु केन्द्रको पहलमा समाधान भएका छन् । उपभोग गर्ने समुदायलाई पनि राहत पुग्नेगरी विवादहरु समुदायस्तरबाटै निरुपण गरेर न्याय दिइँदै आएको छ ।

जिसस प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको बैठकमा उपस्थित सहभागीले केन्द्रको पहलमा जिल्लामा भए–गरेका प्रगतिका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जिसस प्रमुख पोर्तेलले स्थानीय तहको न्यायिक सम्पादनमा देखिएको अन्योल हटाउन संस्थाले भूमिका खेलेको बताए ।

यस्तै, प्रजिअ श्रवणकुमार तिमल्सिनाले सबैको समन्वय र सहकार्यमा द्वन्द्व रुपान्तरण गर्ने कार्य महत्वपूर्ण भएको बताए । उनले जिल्लामा रहेका विद्यालयको जमिन विवाद सबै मिलेर निरुपण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिसस उपप्रमुख मीना पराजुली, प्रमुख जिल्ला न्यायाधीश गिरीराज गौतम, डिभिजन वन प्रमुख युवराज मास्के, जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, अर्जुनधारा नगर उपप्रमुख कमला खतिवडाले सुझाव राखेका थिए ।

यस्तै, कार्यक्रममा बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, हेमकला कट्टेल, ओम भट्टराई, कृष्णप्रसाद राजवंशी, केदार पोखरेल, चेतराज विष्टलगायतले पनि सुझाव पेश गरेका थिए । सुझावहरुलाई मध्यनजर गर्दै आगामी दिनहरुमा कार्य सम्पादन गर्ने निर्णय भएको सहजकर्ता छत्र पौडेलले बताए ।