विविध

तस्कर खेदाउन दुई राउन्ड हवाई फायर

झापा । झापासँग सिमाना जोडिएका इलामका सामुदायिक वनहरूबाट अवैध रुपमा सखुवा चिरान गरी माई खोलामा बगाएर तस्करी गर्ने क्रम बढेको छ ।

सामुदायिक वनमा हरिया काठ चिरान गरी खोलामा चाली बनाएर तस्करी गर्ने कार्यमा स्थानीय उपभोक्ताहरू आफै संलग्न रहेको पनि आरोप लाग्दै आएको छ । वन कार्यालयका सरकारी अधिकारीले लगाएको आरोप खण्डन गर्ने क्षमता कसैसँग पनि छैन । किन भने काठ बरामद हुनु र तस्कर फरार हुनुका कारणले पनि अवैध काठ निकासी कार्यमा सामुदायिक बनका पदाधिकारीसहित स्थानीय उपभोक्ता पनि संलग्न छन् भन्ने कुराको पुष्टि सहजै गर्न सकिन्छ ।

इलामको दक्षिणी सीमा भएर बगाएको काठ बिहीबार राति कनकाई नदीको पानीबाटै बरामद भएको छ । वनको गस्ती टोलीले ती काठ बरामद गरेको हो । झापाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कनकाई पुलको करिब दुई सय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका २२ वटा साँखु जातका काँचा रुखका फेन्टा वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ ।

वन कार्यालयका अनुसार बरामद गरिएको काठ २६ क्युबिक फिट परिमाणको छ । चुलाचुली सब डिभिजन वन कार्यालयका जमदार गणेश नेपालको नेतृत्वमा रहेको गस्ती टोलीलाई माई खोलामा चाली बनाएर काठ निकासी गर्दै गरेको सूचना आएपछि गस्ती टोली त्यस तर्फ गएको थियो । काठ बरामद गर्न खोज्दा तस्करको समूहले गस्तीमा खटिएका वन हेरालुलाइ ढुङ्गाले हानेर तर्साउने र आक्रमण गर्ने प्रयास गरेको थियो । तस्करले आक्रमण सुरु गरेपछि आत्मरक्षाका बनको सुरक्षा गस्ती टोलीले दुई राउन्ड हवाई फायर गरेको जमदार गणेश नेपालले जानकारी दिए ।

फेन्टा (काठ)लाई तस्करले काँटी ठोकेर बनाइएको चालीको सहारामा हावा भरिएको ठुलो ट्युब माथि काठ लोड गर्दै कनकाईको पानीमा बगाएर निकासी गर्ने गरेका छन् । दक्षिण इलामबाट तस्करी भएको काठ कनकाई नदीको पानीमा बगाउँदै भारत निकासी हुने गरेको जमदार नेपालले बताए । राति नौ बजे खोलाबाट काठ आएको सूचना पाएपछि त्यहाँ नेपालको नेतृत्वमा टिका प्रसाद गुरुङ, नर बहादुर कार्की र इन्द्र बहादुर लामा समेतको गस्ती टोली पुगेको थियो । खोलामा चाली आएको देखेर टर्च देखाएको गस्ती टोलीले माथि तस्करले सुरुमा आक्रमण गरेका थिए । वनको गस्ती टोलीले हवाई फायर गरेपछि चालीमाथि रहेका काठ छोडेर तस्करहरू भागेका थिए ।

शुक्रबार बिहान २ बजे पनि गस्तीमा रहेको टोलीले थप चार वटा चालीका काठ बरामद गरेको छ । २४ वटा फेन्टामा २९ क्युबिक फिट काठ बरामद गरिएको सेक्टर वन कार्यालय चुलाचुलीले जनाएको छ । माई खोलाबाट बर्सेनि यसरी नै काठ तस्करी हुने गरेको छ । तस्करी भएका सबै काठ इलामका हुन् । चुरे क्षेत्रमा हुने हरिया रुखको तस्करी खास गरेर चाडपर्व नजिकिँदै जाँदा हुने गरेको दोमुखीका स्थानीय बासिन्दाले बताएका छन् । कतिपय स्थानीयले गरिबी, बेरोजगारी र परिवारको आर्थिक सङ्कट टार्नलाई यस्तो अवैध धन्दा गरिरहेको बताएका छन् ।

सामुदायिक वन समूहका केही पदाधिकारी रुखको तस्करीमा संलग्न भएको पाइएकाले उनीहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ । यद्धपी ती सामुदायिक वन र उनीहरूको पहिचान भने डिभिजन वन कार्यालयले खुलाउन चाहेन ।