विविध

सुकुम्वासी बसेको चिहानघारीको जग्गा हत्याए दमकका दुई महिलाले

झापा । दमक- १० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेको घटना सार्वजनिक भएको छ ।

दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट धनीपूर्जा लिएका हुन् ।

बिर्तामोड ३ स्थित सैनिकमोडदेखि पश्चिम अधुवा खोलाको पुलदेखि २ सय मिटर दक्षिण खोला किनारको सुकुम्बासी बसेको जग्गा उनीहरुले हत्याएका हुन् । जग्गा आफ्नो नाममा पारेर हालसाविकका लागि आएपछि त्यस घटना सार्वजनिक भएको हो । गत असोज १६ गते शनिबार हालसाविकका लागि नापी कार्यालयबाट अमिन आएको थियो ।

नापी कार्यालयका सर्भेक्षक रामकुमार यादव र शत्रुधन चौधरी हालसाविक गर्नका लागि निवेदन दिइएको जग्गा नापी गर्न आएका थिए । सो जग्गामा १० घर सुकुम्बासीले घर टहरा बनाएर बसेको देखेपछि हालसाविक प्रक्रिया रोकिएको छ । नापजाँचपछिको सर्जमिनमा वडाध्यक्ष र सधियारले हस्ताक्षर गरेका छैनन् ।

भूमाफिया ती महिलासँगै मिलन राई , लक्ष्मण बस्नेत , बुनु राईलगायत सुकुम्बासीलाई धम्क्याउन आएका थिए । सुकुम्बासी बसेको जग्गा आफ्नो नाममा पार्ने दमकका ती महिला ऐलानी पर्ती जग्गा खोज्दै पैसा खुवाएर आफ्नो नाममा पार्ने कामको पेशेवर भएको बताइन्छ । सुकुम्बासी बसेको जग्गा पैसा खुवाएर आफ्नो नाममा पारेका ती महिलाहरुले हालसाविक नगर्दा नापी कार्यालयमा लक्ष्मण बस्नेतलाई लिएर गएर केही दिनअघि विवाद खडा गरेका थिए ।

त्यसो त मालपोत कार्यालय झापाले सक्कली धनीपूर्जा नभिडाई नियमविपरित हालसाविकका लागि नापी कार्यालयमा पत्र पठाएको जनाइएको छ । यसैबीच भूमाफियाले सुकुम्वासी बस्ती रहेको खोलाको किनारको जग्गा आफ्नो नाममा दर्ता रहेको बताएपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् ।

बिर्तामोड–३ को करेलावारी टोल विकास संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अधुवा खोलाको किनारमा बसोवास गर्ने सुकुम्बासीहरुले आफ्ना् बसोवासस्थललाई दमकका ती भूमाफिया महिलाहरुले खाली गर्न धम्की दिएपछि आक्रोशित बनेका हुन् । जग्गा धनीपुर्जा आफ्नो नाममा रहेको साथै आफ्नो बाबु–बाजेले पहिलै किनेर छाडेको बताएपछि स्थानीय सुकुम्बासीहरु आक्रोशित हुँदै वडा कार्यालय पुगेका थिए ।

बिर्तामोड–३ को वडा कार्यालयमा सुकुम्बासीहरुले लिखित निवेदन दिँदै न्याय पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सोमवार न्यायको माग गर्दै निवेदन वडा कार्यालयमा बुझाएको बताएका छन् ।कित्ता नम्बर ५७७ भएको ९ कठ्ठा जग्गा साविक अनारमनी–७ को सरस्वती ढकाल समेतको नाममा रहेको धनीपूर्र्जा बनाइएको छ ।

उक्त समूहले जग्गाको मालपोत तिर्नुपर्ने भन्दै केही समय अगाडी वडा कार्यालयमा कोशिस गरेपनि असफल भएको बताइन्छ । सोही समूहले साविक अनारमनी–६ मा समेत आफूहरुको २ कठ्ठा जग्गा रहेको बताउने गरेको छ ।

उक्त बिषयमा स्थानीय बिर्तामोड–३ का ५३ जना सुकुम्बासीहरुले हस्ताक्षरसहित लिखित रुपमा वडा कार्यालयमा सोमवार उजुरी दिईसकेका छन् ।