समाचार

को हुन् ४० घण्टे मन्त्री गजेन्द्र ?

काठमाडौ । गजेन्द्र हमाल जम्मा ३ दिन मन्त्रीपदमा बसेर आज सरकारबाट बाहिरिएका छन् ।

गत शुक्रबार उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए । तर हमाल गैरसांसद व्यक्ति भएको र प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको जेठान भएकाले मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भयो ।

हमाल मन्त्री भएको भोलिपल्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमाल कांग्रेसको कोटाबाट मन्त्री बनाइएको र उनको बारेमा अनावश्यक हल्ला गर्न जरुरी नरहेको भन्दै हमालको बचाउ गरे । तर हमाललाई मन्त्री बनाइएकोमा गठबन्धनमा सामेल दलहरु, प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणाको आलोचना रोकिएन । अन्ततः हमाल राजीनामा दिन बाध्य भए ।

को हुन् त हमाल ?

हमाल नेपाली कांग्रेसका बाँके जिल्लाका नेता हुन् । उनको आलोचना भने गैरसांसद र प्रधान्यायाधीश राणासँगको नाताका कारण बढी भयो ।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुनसक्ने प्रावधान संविधानमा छ । यसअघि केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा पनि गैरसांसद मन्त्री बनेका थिए । देउवाले पनि ओलीको सिको गर्न खोजे ।

गठबन्धन दलमा रहेका कैयौँ राम्रा भनिएका सांसद मन्त्री हुनबाट वञ्चित भएको अवस्थामा एकाएक गैरसांसद व्यक्तिलाई मन्त्री बनाउँदा सबैले शंका गर्ने नै भए । त्यसकारण हमालको सबैतिरबाट चर्काे आलोचना हुनु स्वभाविक नै हो । कांग्रेसभित्रैबाट पनि हमाललाई मन्त्री बनाइएकोमा असन्तुष्टि व्यक्त गरियो ।

हमाल नेपाली कांग्रेस बाँकेका पूर्वपार्टी सभापति हुन् । २०५२ मा उनी कांग्रेस जिल्ला सभापति भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ मा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्षमार्फत सुरु भएको थियो । २०३१ मा उनी नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भए । हमाल नेपाल विद्यार्थी संघको राजनीति गर्दादेखि नै देउवा निकट थिए ।

देउवा निकट भएकै कारण शुशील कोइरालाले उनलाई बाँके सभापतिबाट हटाएर अर्काे व्यक्तिलाई सभापति बनाए । देउवाले कांग्रेस फुटाएर २०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि हमाल त्यसको जिल्ला सभापति बने । ४ वर्षसम्म हमाल कांग्रेस प्रजातान्त्रिकको सभापति रहे ।

हमाल २०६४ मा बाँके क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यका लागि कांग्रेसका तर्फबाट उम्मेदवार बने तर जित्न सकेनन् । चुनाव हारेपछि उनी राजतन्त्रको पक्षमा लागेको आरोप लाग्न थाल्यो ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै उनी त्यसको पक्षमा लागे । धार्मिक जागरण पनि सुरु गरे । उनी कांग्रेसको राजनीतिमा निस्क्रिय रहे । उनी पटक–पटक कांग्रेस महासमिति सदस्यमा निर्वाचित व्यक्ति पनि हुन् ।

देउवाले आफूनिकट रहेकै कारणले उनलाई मन्त्री बनाएका तर विरोध भएपछि देउवाकै आग्रहमा उनले राजीनामा दिएका देउवा निकट एक कांग्रेस नेताले लोकपथलाई बताए । हमाल लगभग ४० घण्टाजति मन्त्री बने ।

४० घण्टा मन्त्री बन्दा उनले कोरोनाका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने काम गरे । त्यसैगरी शनिबार लगानी बोर्डको ४८औँ बैठकमा सहभागी भए । शुक्रबार पदभार ग्रहण गरेका हमाल आइतबार भने मन्त्रालय नपुग्दै राजीनामा दिएर बाहिरिए ।

मन्त्रालयमा उनको आज कर्मचारीलाई ब्रिफिङ गर्ने कार्यक्रम थियो ।