खेलकुद

नेपाल भारतसँग पराजित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आज भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेको थिएन । तर, भारतले खेलमा १-० गोलअन्तरले नेपाललाई पराजित गरेको हो । नेपाल भारतलाई बराबरीमा रोकेर फाइनलमा प्रवेश गर्न चाहन्थ्यो । खेलको ३३औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोलको अवसर खेर फालेका थिए ।

नेपालका कप्तान किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफमा नेपालले भारतविरुद्ध कुनै पनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।

दोस्रो हाफमा पनि नेपालको खेल मध्यम नै रह्यो । नेपालले अधिकांश समय विपक्षीको आक्रमणलाई विफल तुल्याउँदै रक्षात्मक रणनीतिमै खेल खेलेको थियो । तर, खेलको ८२औँ मिनेटमा भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनकाे गाेल निर्णायक रह्याे भने भारतका लागि पहिलाे जीत पनि हाे । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको थियो ।

जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको थियो तर, भारतको यो जीतसँगै ५ अंक रहेको छ । नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्थ्यो । यद्धपि, नेपाल अंक तालिकामा शीर्ष स्थानमै रहेकाे छ ।

यो जीतसँगै भारतले फाइल पुग्ने आशा जीवितै राखेको छ भने नेपालले सेमिफाइलनमा स्थान सुरक्षित गरेको छ । यदि नेपालले भारतलाई बराबरीमै रोक्न सकेको थियो भने फाइनलमा स्थान सुरक्षित हुने थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

यो सँगै आजसम्म नेपाल साफ च्याम्पियनसीपको शीर्ष स्थानमा कायमै रहेको टोली हो । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । नेपाललाई पराजित गर्दै भारत प्रतियोगिताको तेस्रो स्थानमा उक्लन चाहन्थ्यो । उसको लक्ष्य पूरा भएको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ ।

नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।