संघ \संस्था

मेचीनगर ११ मा “एक घर, एक झोला” कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ११ ले “एक घर, एक झोला” कार्यक्रम अन्तर्गत वडाका प्रत्येक परिवारलाई कपडाको झोला वितरण गरेको छ ।

वडाका १४ सय घरपरिवारलाई टोल विकास संस्था मार्फत एक एक वटा झोला आज एक कार्यक्रमका बिच वडाले वितरण गरेको हो ।

प्लास्टिकको झोलाको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न पनि वडाले एक घर, एक झोला कार्यक्रम अन्तर्गत कपडाको झोला वितरण गरेको मेचीनगर ११ का वडाअध्यक्ष सन्तोष कुमार मेचेले बताउनुभयो ।

“वडामा २५ वटा टोल विकास संस्था छन्, सोहि टोल विकास संस्था मार्फत आज झोला वितरण गरियो ।” वडाअध्यक्ष मेचेले भन्नुभयो “वडाले वितरण गरेको झोला कपडाको भएका कारण प्लास्टिकको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

यस्तै वडाले जंगली हात्तीबाट प्रभावित क्षेत्रका परिवारलाई टर्च लाइट पनि वितरण गरेको छ । आज एक कार्यक्रमका बिच वडाको उत्तरी क्षेत्रका परिवारलाई टर्च लाइट वितरण गरिएको वडाअध्यक्ष मेचेले जानकारी दिनुभयो ।

टोल विकास संस्थाको माग अनुरुप ३० थान टर्च लाइट वितरण गरिएको उहाँको भनाई छ । वडाले विपद् व्यवस्थापन शिर्षकमा छुट्याएको बजेट माफत हात्ती प्रभावित क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।