खेलकुद

साफ च्याम्पियनसिपः उपाधिका लागि अब नेपाल र भारत भिड्ने

काठमाडौं । आयोजक माल्दिभसलाई ३–१ गोलान्तरले पराजित गर्दै भारत १३औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ ।

बुधबार भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले दुई र फरवार्ड मानविर सिंहले एक गोल गरेका थिए । माल्दिभसका लागि अलि असफाकले एक गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

तालिकाको दोस्रो स्थानमा रहँदै भारतविरुद्ध बुधबार मैदान उत्रिएको माल्दिभसलाई खेलमा बराबरी गरे मात्र पनि फाइनलमा स्थान बनाउन पुग्ने समिकरण थियो । तर जित्नै पर्ने दबाबसहित मैदान प्रवेश गरेको भारत सुखद नतिजा निकाल्न सफल भयो ।

खेलको पहिलो गोल भारतले गरेको थियो । भारतका लागि मानविर सिंहले खेलको ३३औं मिनेटमा गोल गरेका थिए । त्यसपछि निकै आक्रमण बुने पनि सफल हुन नसकेको भारतले माल्दिभसलाई पेनाल्टी उपहार दिएको थियो ।

४४औं मिनेटमा प्रितम कोटालले हम्जा मोहम्मदलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पाएको पेनाल्टीमा माल्दिभसका लागि अलि असफाकले गोल गरेका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा भारत भाग्यमानी सावित भएको थियो । ६२औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भलि गोल गर्दै भारतलाई दोस्रो पटक खेलमा अग्रता दिलाएका थिए । मानविर सिंहले चेस्ट गर्दै मिलाइदिएको पासमा क्षेत्रीले सुन्दर गोल गरेका थिए ।

भारतको गोललगत्तै माल्दिभसले भारतको पेनाल्टी क्षेत्र नजिकै फ्रि–किकको मौका पाएको थियो । अलि असफाकले प्रहार गरेको उक्त फ्रि–किकलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले उत्कृष्ट बचाउ गर्दै खड्गो टारेका थिए ।

भारतका लागि तेस्रो गोल कप्तान क्षेत्रीले नै खेलको ७१औं मिनेटमा गरेका थिए । प्रितम कोटालले प्रहार गरेको फ्रि–किकमा क्षेत्रीले हेड गर्दै गोल गरेका थिए । दोस्रो हाफमा निकै आक्रमक देखिएका दुवै टोलीमध्ये भारत सफल भएको थियो । काउन्टर अट्याकमा पटक–पटक माल्दिभसले प्रयास गरे पनि भारतका डिफेन्स र गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै जित पक्का गरेका थिए ।

खेलको दोस्रो हाफमा केही तनाव उत्पन्न भएको थियो । भारतका प्रशिक्षक इगोर स्टिमाइकलाई म्याच रेफ्रिले रातो कार्ड देखाएका थिए । मुख्य प्रशिक्षकलाई रातो कार्ड देखाइएपछि भारतको बेन्च आक्रोशित बनेको थियो । खेलको अन्तिम समयमा भारत दश खेलाडीमा सीमित हुन पुगेको थियो । माल्दिभसविरुद्धको खेलमा दुई पहेलो कार्ड पाएपछि भारतीय डिफेन्डर सुवासिस बोसले मैदान छाडेका थिए ।

उपाधिका लागि भारतले अब नेपालसँग खेल्नु पर्नेछ । साफको २४ वर्षको इतिहास पहिलो पटक फाइनलको यात्रा तय गर्न नेपालले बुधबार नै भएको पहिलो खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

साफ उपाधिका लागि भारतले अब नेपालसँग आउँदो असोज २० गते शनिबार राती ८ः४५ बजे नेशनल फुटबल रङ्गशालामा प्रतिष्पर्धा गर्नु पर्नेछ ।