खेलकुद

‘ए’ डिभिजन लिगमा आज विभागीय टोलीद्वय पुलिस र एपिएफको खेल

काठमाडौं । जारी कतार एयरेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार (आज) बाट छैटौँ चरणका खेलहरू हुँदै छन् । छैटौँ चरणको पहिलो दिन आज विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले आज भिन्नाभिन्नै खेलमा प्रतिस्पर्धा गर्दै छन् ।

पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्युरोड टिम (एनआरटी) को सामना गर्दै छ । एपिएफ र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ । यस खेलमा एपिएफ र एनआरटी दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।

पाँच खेल खेलेका दुवै टिमले हालसम्म एक–एक खेलमा मात्र जित दर्ता गराएका छन् । एपिएफ पाँच अङ्कका साथ ११औँ स्थानमा छ भने ६ अङ्क भएको एनआरटी सातौँ स्थानमा छ ।

यस्तै, आजको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलले खेल्ने छन् । दशरथ रङ्गशालामै हुने यो खेल अपराह्न ४ः४५ बजे हुनेछ । जहाँ, पुलिस दोस्रो तथा फ्रेन्ड्स पहिलो जितको खोजीमा छन् । पुलिस पाँच खेलमा पाँच अङ्क जोडेर १०औँ स्थानमा छ भने फ्रेन्ड्स दुई अङ्कसहित पुछारमा छ ।