राजनीति

एमाले झापाः अध्यक्षमा कार्कीसहित सबै सर्वसम्मत

झापा । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् ।
शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् ।

उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएका छन् । तर, सर्वसम्मत भएका उम्मेद्वारहरुको नामवली घोषणा गर्न बाँकी रहेको छ ।

निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । समितिलाई नामावली प्रकाशन गर्न ९ बज्ने बुझिएको छ ।

अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् । उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेद्वार बनिन् ।

यस्तै, पत्रकारका तर्फबाट मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । सो कोटामा उनको बाहेक उम्मेद्वारी परेको छैन । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका छन् ।