खेलकुद

स्पेन र फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा, जर्मनी र पोर्चुगल पराजित

काठमाण्डौ । स्पेन र फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । गएराती नै भएको दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो ।

स्पेन र जर्मनीको खेल निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन ।

जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ । स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो ।

त्यस्तै जर्मनीको ह्यामबर्गमा गएराती भएको दोस्रो क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा गोल हुन सकेन । फ्रान्स ५–३ ले विजयी भयो । अब फाइनलमा पुग्न स्पेन र फ्रान्स सेमिफाइनलमा खेल्नेछन् ।

युरोकप क्वाटरफाइनलमा आज इङ्ग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् ।