
भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लिग चरण सोमबार सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको छ ।
नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणमा आर्मीले तीन खेल जित्दै ९ अकं प्राप्त गरेको छ । गण्डकीले दुई खेल जित्दै ६ अंक, सुदुरपश्चिमले ४ अंक र प्रदेश १ ले २ अंक प्राप्त गरेको छ । मंगलबार हुने पहिलो सेमीफाइनल आर्मी र प्रदेश १ बीच हुने भएको छ, भने दोस्रो सेमीफाइनल गण्डकी र सुदुरपश्चिम बीच हुने नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापाले जानकारी दिए ।
यता मेची रंगशाला भद्रपुर आयोजित सोमबार भएको अन्तिम लिग चरणको पहिलो खेलमा प्रदेश ३ लाई एकको विरुद्ध ९ गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मी विजयी भएको छ । आर्मीका तर्फबाट राम साहले ५ र दिपेन्द्र एरले ४ गोल गरेका थिए । प्रदेश ३ का योगेशकुमार थापाले एक गोल फर्काए । खेलको म्यान अफ म्याच राम साह घोषित भए ।
त्यस्तै दोस्रो खेलमा प्रदेश ५ लाई शुन्यको विरुद्ध १२ गोलको भारी अन्तरले पराजित गर्दै गण्डकी सेमीफाइनलको यात्रा सुरिक्षत गरेको हो । गण्डकीका तर्फबाट श्रवण कुमार र रोमण राणाले ३÷३ गोल गरे । त्यस्तै राजन नेपाली र यमन रासैलीले २÷२ गोल गरेका थिए, भने प्रेम विक र इन्द्र पुनले एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच प्रदेश ४ का श्रवण कुमार घोषित भए ।
त्यसैगरी अन्तिम खेल प्रदेश १ र सुदुरपश्चिम बीचको खेल बराबरीमा टुंगिएको थियो । ३÷३ गोलले खेल बराबरी भएपछि दुवै टिमले एक एक अंक बाँडे । प्रदेश १ का तर्फबाट अनिष मगरले ह्याट्रिक गोल गरे । उता सुदुरपश्चिमबाट राजेन्द्र कार्की, अमित ओझा र भीमदत्त भट्टले एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच प्रदेश १ का ह्याट्रिक गोलकर्ता अनिष मगर घोषित भए ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएकोे प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ ।