
फागुन २/ भारतमा लोकसभाको चुनाव नजिकिदै छ । जसमा यस पटक प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस पटकको चुनावी प्रतिष्पर्धा निकै कसिकसाउ हुने पनि अनुमान गरिएको छ । लोकसभा चुनावका लागि कंग्रेस निकै सशक्तरुपमा अगाडी बढिरहेको छ । यस पटक मोदीलाई सत्ताबाट हटाएरै छोड्ने रणनीतिमा कंग्रेस लागिपरेको छ । यसबीचमा मोदीले भारतको १६ औं लोकसभालाई अन्तिमपटक सम्बोधन गर्दे उनले नेपाललाई पनि सम्झिएका छन् ।
करिब आधाघण्टा बोलेका मोदीले त्यस क्रममा बिजेपी सरकारले गरेका कामहरुको बारेमा बेलिबिस्तार लगाएका थिए जहाँ उनले नेपाललाई पनि सम्झिएका हुन् । उनले नेपाललाई २०७२ सालमा नेपालमा गएको विनाशकारी भुकम्पको समयमा गरेको सहयोगलाई विदेश नीतिको नयाँ सुरुवातका रुपमा व्याख्या गरे । उनले भने ‘हामीले नेपालसहित अन्य देशबाट हाम्रा नागरिकको सुरक्षित उद्दार गर्यौँ ।
मानवताका पक्षमा काम गर्यौँ ।’ । उनले त्यस क्रममा नेपालसंगै बंगलादेश, मालदिभ्स, श्रीलंकामा बिपतको समय गरेको सहयोगको बारेमा बोले । उनले भुटान , चीन र पाकिस्तानको भने कुरै गरेनन् । तर सन् १९७१ मा बनेको बंगलादेशसँग सीमा विवाद अन्त्य गरेको बिषयलाई प्रमुखतासाथ व्याख्या गरे । आफनो कार्यकालमा विश्वले भारतको कुरा सुनेको र भारतको बिकासलाई पनि नजिकबाट नियालेको दाबी गरे ।
मोदीले आफ्नो कार्यकालमा भारत विश्वको छैठौँ ठूलो अर्थतन्त्र भएको, अर्थतन्त्र ५ ट्रिलियन अमेरिकी डलर नजिक पुगेको, भारतको आत्मविश्वास बढेको, विश्वका प्रतिष्ठित संस्थामा भारतको उज्ज्वल भविश्यबारे छलफल हुन थालेको चर्चा गरे । उनले सम्बोधनको क्रममा नै उनले सो पार्टीलाई अटल विहारी बाजपेयी नेतृत्वको विगतको मिलिजुली सरकार र वर्तमान सरकार ‘कांग्रेसको गोत्ररहित’ भएको भन्दै कंग्रेसमाथि कडा प्रहारसमेत गरेका थिए ।

