
झापा, चैत २३ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौंथो संस्करण–२०७६ यहि बैशाख १२ देखी हुने भएको छ ।
मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि को खेलमैदानमा यहि चैत २८ गते देखी प्रतियोगिता आयोजना गर्ने पूर्व खेल तालिका रहेको थियो । तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरु यहि महिना देखी नै सञ्चालन हुने भए पछि खेल तालिका परिवर्तन गर्नु परेको गोल्डकप आयोजक समितिका अध्यक्ष मिन बहादुर बस्नेतले बताए ।

गोल्डकप आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले शनिबार पत्रकार सम्मेलन गरी नया खेल मिति बारे जानकारी दिए । ८५ देखी ९० लाख बराबरको लागतमा सञ्चालन हुन गईरहेको प्रतियोगितामा विदेशी टिम क्यामरुनी दाउफिन्स क्लब र पारो एफसी भुटान, विभागिय टिम नेपाल पुलीस र त्रिभुवन आर्मी क्लब, ए डिभिजन क्लबहरु संकटा क्लब, थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब संगै आयोजक सहित मोफसलका तीन टिम गरी दश टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
गोल्डकप बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, मेचीनगर खेलकुद विकास संयोजक तथा मेचीनगर वडा नम्बर ४ वडा अध्यक्ष नविन बराल, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर), गोल्डकप आर्थिक संयोजक गंगालाल गुरुङ्ग, सचिव अशोक राई, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा यहि बैशाख १२ गते देखी २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद ५ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ । झापा जिल्ला खेलकुद विकास समिति र काँकरभिट्टा भेट्रान फुटबल क्लबको सहआयोजक रहेको छ । त्यसै गरेर संरक्षकमा मेचीनगर नगरपालिका कार्यालय रहेको छ । र प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्ने भएको आयोजकले बताए ।

