युवराज आचार्य
झापा, अषाढ २ । नेपालमा पनि पश्चिमा मुलुकमा झै हिप हफ (र्याप) गीतको पारखीहरु बढ्दै गएका छन् । विश्व व्यापीकरणको प्रभावले सङ्गीततको क्षेत्रमा थुप्रै ‘जनरा’ हरु भित्रिरहेको छ । हिप हफ त्यही जनरा मध्येको एक हो । त्यही पक्तिमा उभिएका छन् मेचीनगर–७ जोर्सिमलका वाईजिएम रोशन मेचे ।
आर्थिक अवस्था कमजोर भएको कारण कक्षा १० सम्म मात्र अध्ययन गर्न पाएका उनको प्रेरणाको स्रोत र हौसला भनेको उनकी आमा गीता मेचे हुन् । बुबाले कान्छी आमा ल्याएर घरबाट अन्तै गएपछि आमा र उनी मात्र घरमा बस्दै आएका छन् । सानो उमेर देखि नै घर व्यवहार सम्हाल्दै आएका रोशनको साङ्गीतीक मोह धेरै छ ।
विभिन्न समस्याको बावजुत पनि आफ्नो ईच्छा र रुचि अनुसार हिप हपmलाई रोशनले निरन्तरर्ता दिईरहेका छन् । मोफसलमा रहेर पनि साङ्गीतीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल झापाली र्याप गायक रोशन अरुकोमा ज्याला मजदुरी गरेरै भएपनि सङ्गीतमा मेहेनत गरिरहेका छन् ।
बिगत ५ बर्ष देखि र्याप गाँउदै गीत सङ्गीतमा आफ्नो भबिष्य खोज्दै साङ्गीतीक क्षेत्रमा संघर्ष गर्दै आएका रोशनले अहिले सम्म चार वटा म्यूजिक भिडियो निकालीसकेका छन् । जसमा लाचार, ओमाया, फ्रिस्टाल र थाहा छ मलाई रहेका छन् ।
थाहा छ मलाई बोलको म्यूजिक भिडियो सार्वजनीक भएको तीन साता भयो यसले अहिले राम्रै प्रतिक्रिया पाईरहेको छ । अनिश श्रेष्ठको संङ्गीत रहेको उक्त गीतमा रोशन स्वयंमको नै स्वर, शब्द र अभिनय रहेको उक्त म्यूजिक भिडियोमा एलिना श्रेष्ठ र अर्जुन राजवंशीको पनि अभिनय रहेको छ ।
स्थानिय क्षेत्रका विभिन्न ठाँउहरुको साङ्गीतीक कार्यक्रममा आफ्नो कला कौशल प्रस्तुत गरिसकेका रोशनले छिमेकी राष्ट्र भारतको सिलुगुढीलगायतका शहरमा पनि आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
र्यापर एमजीके (मेशिनगन क्याली) को फ्यान रोशन उनकै प्रस्तुती बाट प्रभावित हुदै सिक्दै आएका छन् । यम बुद्धको झझल्को मेटाउने रोशनले अहिले सम्म सङ्गीत कक्षा नलिकन आफ्नै मेहेनतको भरमा अगाडी बढीरहेका छन् । तर आगामी दिनमा भने सङ्गीत शिक्षा लिदै यस क्षेत्रलाई नै निरन्तरता दिने योजनामा रहेको रोशन बताँउछन् ।