एजेन्सी, अषाढ २३ । आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले १२ बर्ष पछि कोपाको उपाधि जितेको हो । यो सिजनको जित संगै ब्राजिल नवौं पटक कोपाको च्याम्पियन बनेको हो ।

ब्राजिलको जितका लागि खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । ब्राजिली डिफेन्डर थिएगो शिल्भाले ट्याकल गर्ने समय बलले उनको हातलाइ छोएपछि पेरुले पेनाल्टीको अवसर पाएको थियो ।
तर पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए । ७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।
प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो ।
उत्कृष्ट खेलाडीदेखि ४ अवार्डमा ब्राजिलको वर्चस्व
प्रतियोगिताको उपाधि चुमे सँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ । कोपाको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत ४ वटा पुरस्कारमा ब्राजिलले कब्जा जमाएको छ ।

ब्राजिलका ड्यानी आल्भेस उत्कृष्ट खेलाडी बनेका छन् भने गोल्डेन ग्लोभ्स अर्थात उत्कृष्ट गोलरक्षक पनि ब्राजिलका एलिसन बेकरले हात पारेका छन् । त्यस्तै उत्कृष्ट युवा खेलाडी एभरटन सोआएसले हात पार्दा सर्वाधिक गोलकर्ताको उपाधि पनि सोआरेसले हात पारेका छन् उनले पेरुका पाउलो गुरेरोसँग पुरस्कार बाँडेका छन् । प्रतियोगितामा उनीहरुले समान ३ गोल गरेका थिए ।