खेलकुद

मोलवे असामलाई पराजित गर्दै आर्मी सेमीफाइनलमा प्रवेश

झापा, कात्तिक २० । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको बुधबार भएको तेस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले मोलवे एफसी असाम (भारत)लाई पराजित गरेको छ । यो जित संगै आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ ।

विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मोलवे एफसी असामलाई २–० गोल अन्तरले जित दर्ता ग¥यो ।

निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो । जसमा टेकबहादुर बुढाथोकीले सम्झनलायक गोल गरेका थिए ।

दायाँ कर्नरबाट टंक बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले गोल गरेका हुन् । टंकको क्रसमा आएको एयर बललाई चिप गर्दै टेकबहादुरले गोलपोस्टको दिशा दिएका थिए । प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो । त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए । तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।

असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर, असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो । खेलको ७४औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो । दिपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो ।

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । उनले नगद १० हजार पाए ।

गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । बिहिबार चर्ज ब्वाईज क्लब काठमाण्डौं र गोर्खा ब्वाइज रुपन्देही बिच अन्तिम क्वाटरफाइनल खेलमा भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

Leave a Reply

Your email address will not be published.