झापा, पुष १९ । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारणसभा सम्पन्न भएको छ ।

मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न साधारणसभामा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापा मगर, महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, नेकपा मेचीनगर–८ का अध्यक्ष कुन्दन निरौला, शिक्षासेवी देवनारायण सिटौला, कञ्चनजंघा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ सुनुवारलगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ सलिना उराँव र रेनु मुण्डा, असल ऋणीतर्फ अमृता तामाङ र सरिता पुरी थापा तथा उत्कृष्ट ५ वर्षे बचतकर्तातर्फ डिकराज ठटाललाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाले कञ्चनजंघा आधारभूत विद्यालयलाई २५ थान कुर्सी प्रदान गरेको थियो । कुर्सी कञ्चनजंघाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ सुनुवारलाई संस्थाका अध्यक्ष दशरथ खडियाद्वारा प्रदान गरिएको हो । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष दशरथ खडियाले प्रस्तुत गरेका थिए ।
संस्थाको अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सदस्य मनमाया देवकोटाले स्वागत र सदस्य विकास देवकोटाले सञ्चालन गरेका थिए ।

