शिक्षा

स्थगित परीक्षा तत्काल नहुने

काठमाडौं, साउन २० । स्थगित परीक्षा तत्काल नहुनेत्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ ।

कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।

विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ ।

सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने उनको भनाइ छ । विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य हुनै पर्ने बताइएको छ ।

परीक्षा नियन्त्रक जोशीले पुनः केही महिनामै बन्दाबन्दी हुने परिस्थिति उत्पन्न भए परीक्षाको विकल्प खोजिने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ