स्वास्थ्य

अर्जुनधाराका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो

अर्जुनधारा, साउन २५ । झापाको अर्जुनधारा नगरपालिकाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै अर्जुनधारामा संक्रमितको संख्या १७ पुग्यो ।

आज संक्रमण पुष्टि हुनेहरु दुवै जना पुरुष रहेका अर्जुनधाराको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाले समुदायमा संक्रमण भएको आशंकामा पछिल्लोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिँदै आएको छ ।

दोस्रो चरणमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार १२७ जनाको स्वाब संकलन गरिएकामध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।

अर्जुनधाराको क्वारेन्टाइनमा रहेका २५ जना र समुदायका १०२ जना व्यक्तिको स्वाब संकलन गरिएको थियो । जसमा क्वारेन्टाइनमा रहेका २ जना पुरुषको पीसीआर परीक्षण पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।