काठमाडौं, साउन ३२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । डा. गौतमले होम आइसोलेसनमा रहनेहरुको संख्या ४ सय ९७ रहेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ३ सय ३५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनले १५ हजार ३ सय ४३ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।
विगत २४ घण्टामा १२ हजार २ सय ४७ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।