अन्तर्वार्ता

चुनावको घोषणा पत्र अनुसार काम गर्न नसेकेको महसुस गरिरहेको छु: वडाअध्यक्ष कार्की

इलाम, असोज २३ । नेपालको संविधान २०७२ जारी भएपछि नेपालको संघिय संरचनामा परिवर्तन भयो । देशमा तीन तहका सरकार गठन भए, स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार । स्थानिय सरकारको तल्लो एकाईका रुपमा वडा समिति रहने व्यवस्था संविधानले गरेको छ , जसलाई नागरिकको नजिकको सरकार पनि भन्ने गरिन्छ । जनताको नजिक रहेर जनताका प्रत्यक्ष सरोकार जोडिएका विषयहरुको संवोधन गर्दै विकासका गतिविधीहरु अघि बढाउनु वडा समितिको प्रमुख जिम्मेवारी हो । यसै सेरोफेरोमा रहेर माइजोगमाई गाउँपालिका वडा नं १ ले स्थानियवासीको समस्या समाधान गर्दै विकासका कामलाई कसरी अगाडी बढाइरहेको छ भन्ने विषयमा वडाअध्यक्ष यामकुमार कार्कीसँग कुराकानी गरेका छौँ । कार्की गएको स्थानिय तहको निर्वाचनमा तत्कालिन नेपनल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित भएका हुन् । पूर्वशिक्षक समेत रहेका कार्कीले गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । प्रस्तुत हाम्रो खबरपाटीकर्मी नरेन इलामेलीले कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश :

स्थानिय तहको निर्वाचन सम्पन्न भई तपाईँहरु जनप्रतिनिधीको रुपमा आउनु भएको करिब करिब तीन बर्ष बितिसक्यो, यो तीन बर्षमा हिजो चुनावमा जाँदै गर्दा र आजको अवस्थालाई समग्र मुल्याङ्कन गर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?
यो एकदमै गम्भीर प्रश्न हो, माइजोगमाई गाउँपालिकाको स्थापना भइसकेपछि हामी पहिलो पटक यस गाउँपालिकामा जनप्रतिनिधीको रुपमा आयौँ । हामी आइसकेछि केही कामहरु थालनी भएका छन् । विशेष गरी विकासका पूर्वाधार निमार्ण कार्य मै हामी धेरै लागि पर्यौ । यो वडामा गाउापालिकाको केन्द्र पनि पर्दछ । हामीले गाउँपालिकाको केन्द्रबाट अन्य वडाहरु जोड्ने सडक निर्माण र मर्मतका लागि जुट्यौँ । धार्मिक, सांस्कृतिक र पर्यटकिय गन्तव्यहरु संरक्षण र प्रवद्र्धनमा जुट्यौँ । समग्रमा भन्नुपर्दा धेरै कामहरुको थालनी भएका छन् तर सम्पन्न भएका छैनन् । साथै हिजो मतदानको समयमा हाम्रो पार्टीको तर्फबाट घोषणा पत्र तयार गर्ने प्रमुख व्यक्ति म पनि हुँ । तर घोषणा पत्रमा उल्लेख भए अनुसार चाहिँ काम गर्न सकिएन कि भन्ने मैले पनि महसुस गरेको छु ।

यस वडाको विकास गर्दै जनताको मुहार परविर्तन गर्नका लागि यहाँका सरोकारवाला र प्रतिपक्षी दलहरुसँग छलफल र सहकार्य गर्नुभयो ?
हामीले सबै क्षेत्रका सरोकारवाला र प्रतिपाक्षी दलसँग सहकार्य गरेकै छौँ । म पहिल्यै देखि सहमतिमा काम गर्न चाहने मान्छे , यस क्षेत्रको विकासका लागि हामी पक्ष र विपक्षमा विभाजित नभई सबैसँग सहकार्य गर्दै काम गरेका छौँ । वडामा आएको बजेट कहाँ, कति र कसरी छुट्याएर काम गर्ने भनेर स्थानिय समाजसेवी, अग्रज, बुद्धिजिवी, प्रतिपक्षी दलका साथीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुसँग परामर्श, छलफल गरेर सहकार्य मै अघि बढेका छौँ । हुनसक्छ गाउँपालिकाको समग्र नेतृत्वले त्यस्तो निती कार्यक्रम नलिएको भए पनि म आफूले चाहिँ सबैलाई समेटेर जाने प्रयास गरेको छु ।

विकासका पूर्वाधार तयार गर्ने कार्यमा यो तीन बर्षमा के कस्ता प्रगती भए बताइदिनुहोस न ?
विशेष त यो तीन बर्षमा हामीले विकासका पूर्वाधार निर्माणको कामको थालनी गर्यौ । शिक्षाको क्षेत्रमा गाउँपालिकाको केन्द्रमा रहेको अमरकल्याण माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापना गरेका छौँ जसका लागि अपुरा रहेका कामहरु संचालनमै छन् । वडा नं १ मा नै रहेको नयाँबजार क्षेत्रको सडक पिच गर्ने काम थालनी भएको छ । बालागुरु शिवालय धाम र पलयुल सांगेछोलिङ्ग गुम्वाको मर्मत सम्भारको काममा सहयोग गर्यौ । नयाँबजार देखि जौवारी र नयाँबजार देखि प्याङ्ग जोड्ने सडकका लागि काम गर्यौ । समग्रमा गाउापालिकाको कूल बजेटको करिब आधा बजेट वडा नं १ मा लगाएर काम गरिरहेका छौँ तर सबै कामको परिणाम भने आइसकेको छैन् ।

यसै वडामा रहेको अमरकल्याण माध्यमिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यम गरी दूई प्रकारको शिक्षा संचालन गरिएको छ, जहाँ शूल्क पनि असुलिन्छ र विद्यार्थीहरु बीच पनि विभेद भएको छ भन्ने स्थानियहरुको गुनासो छ यसलाई वडाले कसरी हेरेको छ ?
राम्रो प्रश्न गर्नुभयो, पछिल्लो समय नेपालको शिक्षमा अंग्रेजी विषयको महत्वकाँक्षा बढ्यो । त्यसैले अमरकल्याण माध्यमिक विद्यालयको शिक्षालाई बैज्ञानिक बनाउने उद्धेश्यले अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्नुपर्ने भयो । अमर कल्याण माध्यमिक विद्यालयले चर्को शुल्क लिएको छैन् । अभिभावककै मञ्जुरीमा थोरै शुल्क लिएर अंग्रेजी माध्यमको शिक्षा प्रदान गरिरहेको छ । बाहिरबाट जसरी मुल्याङ्कन भएको छ त्यस्तो अवस्था छैन् । गाउँपालिकाले निजी विद्यालयलाई विस्थापन गर्ने निती पनि लिएको छैन । ती विद्यालयहरुलाई संरक्षण गर्दै अघि बढ्नुपर्छ भन्नेमा म पनि लागिरहेको छु । निजी विद्यालय पनि जनताकै लागानी हो त्यसलाई संरक्षण गर्नुपर्छ । वडामा रहेका निजी विद्यालयहरुलाई सके सम्म सहयोग गर्ने क्रममा म व्यक्तिगत रुपमा पनि लागिरहेकै छु ।

वडा नं १ को प्रमुख प्राथमिकता के हो ?
प्राथमिकतामा त पूर्वाधार कै कुराहरु आउँछन् । मेरो आफ्नो इच्छा चाहिँ बैज्ञानिक किसिमका काम गरौँ र दिगो विकास तर्फ जाउँ भन्ने थियो । चुनावका बेलामा घोषण पत्रमा जुन कुरालाई प्राथमिकता दिइएको छ त्यही अनुसार अघि बढौँ भन्ने नै थियो । तर जनताको माग भने सडक, खानेपानी , खेल मैदान, विद्यालयका पूवार्धार निर्माण लगायत रहयो । अहिले सम्मको अवस्था हेर्दा चाहिँ सडक निर्माण कै काममा धेरै लगानी भएको छ ।

सडक निर्माण गाउँपालिकाकै पहिलो प्राथमिकतामा रह्यो, तर नयाँ सडक खन्ने, भएका पुराना सडक मर्मत र स्तरोन्नती नगर्ने हो भने कसरी दिगो विकास तर्फ जान सकिएला ?
राम्रो प्रसंग उठाउने भयो, माइजोगमाई गाउँपालिकाको विकासको पहिलो आधारका रुपमा रहेको फिक्कल गुप्ती नयाँबजार सडक निर्माणको काम जसरी हुनुपथ्र्यो त्यो भएन । अहिले उक्त सडक टेण्डरको प्रक्रियामा छ । यो सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको छ । अहिले उक्त सडकको काम जसरी भइरहेको छ त्यसको पूनर्विचार गर्दै नयाँ सोचका साथ अघि बढ्नुपर्छ भनेर प्रदेश सांसदहरुसँग पनि कुरा भइरहेको छ । अरु वडा भित्र भएका स्थानिय सडकहरु बाह्रै महिना चल्ने बनाउन जरुरी छ । हाल सम्म बनेका नयाँ सडकहरु खासै राम्रा भएका छैनन् । सडकहरु बैज्ञानिक सोच अनुसार भएका छैनन् । अब नयाँ सडक निर्माण भन्दा पनि पुराना र भएका सडकहरु ग्राभेल र सोलिङ्ग गर्दै स्तरोन्नती गर्ने तर्फ हामी लाग्छौँ ।

नयाँबजार क्षेत्रमा सडक स्तरोन्न्तीको काम सुरु भए पनि अलपत्र छ, सडक हिलाम्यै छ यो कहिले सम्पन्न होला र जनताले कहिले हिलोबाट मुक्ति पाउलान ?
यो एकदमै दुख लाग्दो कुरा हो । यो काम दुई बर्षमा सक्ने हाम्रो निती तथा कार्यक्रममा थियो अलिकति प्राविधिक कारण र टेण्डरको प्रक्रियाले पनि ढिलो भयो । यो सडकको अवस्था पहिले भन्दा खराब बन्दै गएको छ । म विहान बेलुका त्यही सडक भएर कार्यालय आउने जाने गर्छु । स्थानियवासीका सामु त्यो सडक भएर हिँड्दा म आँफै पनि लज्जित महसुस गर्छु । । जनप्रतिनिधीहरु आए पछि भएको सडकको विकास भन्दै स्थानियहरुले खिल्ली उडाइरहेका छन् । यो सडकको काम प्रति म पनि असहमत छु । यो त बनाउने भन्दा पनि बिगार्ने काम भइरहेको छ । यसलाई बैज्ञानिक सोचका साथ अघि बढाउनुपर्छ यसलाई सम्पन्न गर्न गाउँपालिका र वडाका जनप्रतिनिधीहरु बसेर छलफल गरी नयाँ नीति निमार्ण गरी अघि बढ्नुपर्छ भन्ने महसुस गरेको छु । सो काम सम्पन्न नहुनुका पछाडी ठेक्केदारको लापरबाहीका साथै हाम्रो सोच र नीतिको पनि कमजोर िहो । तर यसलाई चाँडै सम्पन्न गर्ने प्रयत्नमा छौँ ।

यस वडामा पर्ने नयाँबजार माइजोगमाई गाउँपालिकाकै प्रमुख व्यापारिक केन्द्र हो, यसलाई व्यवस्थित गर्न के के काम भए र आगामी योजनाहरु के छन् ?
हामीले यस बजारलाई व्यवस्थित गर्ने उद्धेश्यले नै बजार क्षेत्र पिचको कार्यक्रम ल्याएका हौँ जुन जारी नै छ । बजारको फोहोर मैला व्यवस्थापनका लागि व्यवस्थित डम्पिङ साइड निर्माण गरेका छौ । हाम्रो प्रमुख व्यापारिक केन्द्र हो नयाँबजार, यसलाई अन्य व्यापारिक केन्द्रहरुसँग जोड्न फिक्कल गुप्ती नयाँबजार सडक निर्माणलाई पूर्णता दिनु पर्नेछ , जुन अहिले पनि जारी छ ।

यस वडामा हामीले यो चाहिँ गर्यौँ भनेर गर्वका साथ भन्न सक्ने काम के के भए ? बताइदिनुहोस न ।
कामहरु त धेरै भएका छन , जसको परिणाम भने आइसकेको छैन । विकासका पूर्वाधारका काम धेरै भएका छन् । देखिने गरी भएका कामहरु भनेको हाम्रो वडा कार्यालय अर्काको भवनमा भाडामा बसेको थियो अहिले व्यवस्थित आफ्नै भवनमा छ । बजारको फोहोर मैला व्यवसथापनका लागि डम्पिङ्ग साइड निमार्ण भयो । साविकको वडा नं २ मा खानेपानीको व्यवस्था गर्यौ त्यहाँ केही काम भएको छ तर त्यो मात्रै पर्याप्त भने होइन । गाउँपालिकाको केन्द्रबाट अन्य वडाहरु जोड्रने सडक हरु निमार्ण गरेका छौँ , वडा भित्र रहेका विद्यालयहरुको स्तरोन्नती भएका छन् । नयाँबाजारमा २५ शैयाको अस्पताल निर्माणको काम अघि बढाएका छौँ । हाम्रो पहिलो उद्धेश्य फिक्कल गुप्ती नयाँबजार सडक स्ततरोन्नती र नयाँबजार क्षेत्र पिच गर्ने थियो त्यसमा हामी चुक्यौँ जुन सम्पन्न भएको भए जनताले प्रत्यक्ष महसुस गर्ने र देखिने काम हुने थियो तर कतिपय कुरा हाम्रो पहँुच भन्दा बाहिर पनि हुँदो रहेछ ।

माइजोगमाई गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाए कारवाही गर्ने (तलबबाट ३ प्रतिशत कटाउने) निर्णय गरेको थियो ,जुन निर्णय देशभर चर्चामा आयो, राष्ट्रिय स्तरका मिडियाले समेत प्राथमिकताका साथ प्रकाशन प्रशारण गरे । धेरैले राम्रो काम भन्दै प्रशंसा पनि गरे तर चर्चा र प्रशंसा मै सिमित भयो कार्यान्वयन गर्न सक्नुभएन नि किन ? तपाईँ गाउँपालिकाको प्रवक्ता पनि हुनुहुन्छ बताइदिनुहोस न कति जनालाई कारबाही गर्नुभयो ?
यो एकदमै गलत हो, यो नियम राख्नु पर्छ भनेर शिक्षा शाखाले प्रस्ताव ल्याएको हो तर यसमा मैले सुरु मै असहमति जनाएको थिएँ । यो एकदमै हतारमा लिएको निर्णय हो । यो कार्यान्वयन पनि भएन ।

अहिले विशव नै कोरोना (भाइरस कोभिड १९) का कारण आक्रान्त बनेको छ, यस वडामा पनि धेरेले रोजगारी गुमाएर बेरोजगार बनेका छन् । उनीहरुलाई आर्थिक क्रियाकलापमा जोड्दै उनीहरुको पुनस्र्थापनाका लागि के – कस्ता योजनाहरु छन् ?
यस विषयमा धेरै समस्याहरु छन् । धेरै मानिसहरु रोजगारीबाट बञ्चित भएका छन् । यसका लागि रोजगारी नै प्रदान गर्न सक्ने बजेट त हामीसँग छैन तैपनि अब बन्ने विकासका संरचनाहरु निमार्ण गर्दा मेसिनको प्रयोगलाई घटाएर मानव श्रोत नै परिचालन गरी थोरै भए पनि आर्थिक क्रियाकलापमा जोड्नुपर्छ कि भनेर लागिरहेका छौ ।

एकातिर महामारीको चपेटा छ, अर्का तिर उत्पादित कृषि उपज ( विशेष गरी चीया, दुध, अलैँची र आलु) को बिक्री वितरण प्रायः ठप्प छ यो अवस्थामा पनि कृषि उपजको बजारीकरणमा तपाईँहरुको ध्यान गएको देखिएन नि ?
बजारीकरणका लागि अलिकति हाम्रो पहँुच भन्दा बाहिरको कुरा पनि रहेछ । यहाँको मुख्य उत्पादन अलैँची, चीया, आलु र दुध नै हुन । यी राष्ट्रिय उत्पादन हुन । राष्ट्रिय उत्पादनको बजारीकरणको मुख्य जिम्मेवारी संघिय सरकारको हो । यसमा सरकारको उचित नीति भएन कि भन्ने मैले महसुस गरेको छु । दुधको विक्रीका लागि हामीले पनि स्थानिय प्रशोधन कारखानासँग पनि सहकार्य गरेका छौँ । चीयाका लागि हामी भारतीय बजारसँग निर्भर रहनुपर्ने बाध्यता छ जसमा हाम्रो सहज पहुँच छैन् । हाम्रो अर्को प्रमुख र महत्वपूर्ण उत्पादन आलु हो जसको भण्डारणका लागि शितभण्डार निर्माण गर्न सकेको भए बजारीकरणमा सहज हुने थियो । आलुको भण्डारण गरेर जुनसुकै सिजनमा पनि विक्रि गर्न सकिन्थ्यो । त्यसका लागि हामीले पर्याप्त पहल गरेनौँ की भन्ने महसुस गरेको छु । स्थानिय कृषि उपजको बजारीकरणका लागि बिभिन्न सहकारी संस्थाहरुलाई प्रोत्साहन पनि गरेका छौँ ।

अन्त्यमा वडा नं १ वासीलाई के भन्न चाहनुहुन्छ ?
स्थानिय तहको निर्वाचन सम्पन्न भएर हामी जनप्रतिनिधीको रुपमा हामी आइसकेपछि हामीले विभिन्न कामको थालनी गरेका छौँ । यी कामको परिणाम भविष्यमा आउने नै छ । हामीबाट विभिन्न कमी कमजोरी पनि भए होला । तर यहाँको विकासका लागि गहिरो अध्ययन गरी दिगो विकास गर्न यहाँका बुद्धीजिवी, सरोकारवाला तथा प्रतिपक्षी दलसँग सहकार्य गरी अघि बढ्न वडा न. १ सँधै तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्दछु ।