झापा, पुस २७ । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् ।
नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत जुटाउने प्रयासमा छन् ।
दुई प्रदेशसभा सदस्य भने वामदेव गौतमतिर लागेका छन् । पार्टी विभाजनपछि प्रचण्ड माधव समूहमा नलागेका गौतमले शनिबार मात्र आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।
गौतमले सुरु गरेको एकता अभियानमा झापाका दुई जना प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली जोडिएका छन् । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपील समेत गरेका छन् ।
केन्द्रमा दुई लाइन देखिएपनि पार्टी वैधानिक रुपमा नफुटेका कारण केन्द्रलाई दबाव दिने उदेश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा थप कुनै निर्णय नभएको बताए ।
बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो, तर उनले त्यसलाई अस्वीकार गरे । लगतै मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर अब वामदेवतिर लागेका छन् ।अनलाईन खबर