मेचीनगर, पुस २७ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार झापाको मेचीनगर–६ स्थित काकँरभिट्टामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । मेचीनगरका युवा विद्यार्थीद्वारा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज साझ दीप प्रज्ज्वलन गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, अनेरास्नवियूका मेचीनगर संयोजक आशिष पौडेल, सहसंयोजक अविजित दवाडी, सुलभ भण्डारी, भवेस दाहाललगायतको उपस्थिति रहेको थियो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२र०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए ।

