काठमाडौं, पुस २७ । अहिले जाडोको मौसम छ । चिसो दिनप्रतिदिन बढ्दै गईरहेको छ । शरीरमा बाक्लो कपडा र टाउकोमा भुवादार टोपी नलगाएसम्म चिसोले मुटु कमाउँछ । त्यसैले अधिकांशले जाडोयाममा टाउकोमा टोपी छुटाउँदैनन् ।
तर टोपी लगाइरहँदा टाउकोमा चिलाउने, चायाँ पर्ने, कपाल बिग्रने जस्ता समस्या पनि देखा पर्छ । जाडोबाट बच्न लगाइने टोपीले कपालमा झनै चायाँको समस्या निम्त्याउने भन्दै ब्युटिसियन सकभर स्कार्पले कपाल छोप्न तर टोपी नलगाउन सल्लाह दिन्छन् ।
तर टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ । कपाललाई लामो समयसम्म गुम्स्याएर राख्यो भने चायाँको समस्या झनै बढ्छ ।
त्यसैले जाडोमा घाम लागेको बेला टोपी फुकाल्नुपर्छ । धेरैबेर टाउकोमा हेलमेटको प्रयोग गर्दा पनि टाउनकोमा पसिना आई कपाल रुखो बनाउँछ । यसप्रति सचेत हुनुपर्छ ।
चाँया हटाउने घरेलु तरिका :
कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपपि हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।
एलोभेरा जेलः नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।
दही: कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

