काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छाेडेर गएकाहरू आत्तिएका बताउनु भएकाे छ ।
नेकपा लुम्बिनी प्रदेशले रूपन्देहीकाे बुटवलमा गरेकाे विशाल जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे हाे । देश बनाउने र आफू मात्रै बन्ने उद्देश्य नबोकेका तत्वहरु पार्टीबाट बाहिरिएको बताउनुभयाे ।
केही मानिस पार्टीबाट बाहिर गएका भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – कठैबरा भन्ने मानिस पार्टी बाहिर गएका छैनन्, पार्टीमा बसेर गुटबन्दी गर्ने, पार्टीलाई समस्या पुर्याउने मानिसमात्र पार्टीबाट बाहिरिएका छन् ।’
प्रचण्ड समूह गएपछि पार्टी गतिशिल भएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । केही मानिसले अहिले पनि देश बनाउने हाेइन आफू बन्ने उद्देश्य नछाेडेका बताउनुभयाे ।
विभाजित कम्युनिष्ट आन्दोलनलाई तीन वर्षअघि एक ठाउँमा ल्याउने काम आफ्नो नेतृत्वमा भएको उहाँले स्मरण गर्नुभयाे । तर आफू मात्रै बन्ने पार्टीकै केही नेताका कारण संकट उत्पन्न भएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले पार्टी नफुटेको तर जस्ताको तस्तै रहेकाे पनि बताउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘पार्टी फुटेको छैन भन्ने कुरा तपाईंहरुको यो उपस्थितिले देखाएको छ, पार्टी फुटेको पनि छैन, जस्ताको तस्तै पनि छैन’, पार्टीबाट उद्देश्य नमिलेका, समृद्धिको सपनालाई अस्वीकार गर्ने,आफू मात्र बन्ने उद्देश्य बाेकेका तत्वहरु बाहिरिएका छन् ।’

