काठमाडौं, फागुन ७ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।
नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन् ।
मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।
आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ ।