स्वास्थ्य

शनिबार मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

मेचीनगर, फागुन १४ । झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर ईटाभट्टामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर मेचीनगर–७ ईटाभट्टाको आयोजनामा भोलि शनिबार हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ डाक्टरद्वारा मुटु, सुगर, प्रेसर तथा थाइराइडलगायतका बिरामीले सेवा लिन पाउने छन् ।

स्वास्थ्य शिविरमा विर्ता सिटी हस्पिटलका बरिष्ठ फिजिसियन डा. सन्दिप चन्द्र श्रेष्ठ सहितको टिमबाट बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइने साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टरका सञ्चालक एवम् सहायक चिकित्सक विकास कोईराला (टेकेन्द्र) ले बताए ।

कोईरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा ओपिडी, मुटु, सुगर जाँच, थाइराइडलगायतका बिरामीलाई जाँच गरिनुका साथै मुटु, सुगर, प्रेसरका बिरामीलाई निःशुल्क औषधि वितरण गरिन्छ । साथै अन्य जाँचमा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।

सञ्चालक कोईरालाले शिविरमा करिब ३०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी रहेको जानकारी दिए ।

शनिबार बिहान १० बजेदेखि शुरु हुने शिविर दिनको ५ बजेसम्म सञ्चालन हुनेछ । बढ्दो शहरीकरण, प्रदूषण र अव्यवस्थित खानपीनले शरहमा मात्र हैन ग्रामीण भेगमा पनि अप्रत्याशित रूपमा बिरामी हुने क्रम बढिरहेको छ । त्यस्ता स्वास्थ्य समस्यालाई समाधान गर्न शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरबाट मेचीनगर क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।