विविध

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

झापा, जेठ २०। देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक सङ्कटमा परेको छ ।

नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोवास गर्दै आएका गन्धर्वका ४५ परिवार विहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् ।

सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुख्र्यौली पेशा हो । अहिलेसम्म यो पेशा धान्दै आएका उनीहरु सर्वत्र निषेधाज्ञा लागू भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ । तर अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पुर्याएका छैनन् ।

“रोगले भन्दा भोकले मर्ने भयौं”, पूर्वाञ्चल गन्धर्व साँस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्छन्, “सारङ्गी रेटेर कमाएको पैसोले हाम्रो जातिको परिवार धानेको थियो । अहिले घर बाहिर निस्कन नसक्दा विहान बेलुकाको छाक टार्न मुस्किल भइसक्यो ।”

सहज अवस्थामा उनीहरु काठमाडौं, पोखरा, धरान, इलाम र ताप्लेजुङ मात्र होइन, छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जीलिङ, कालिम्पोङ र सिक्किमसम्म पुगेर सारङ्गीमा गीत सुनाउँथे । फर्केर घर आउँदा मनग्यै कमाई हुन्थ्यो । त्यही कमाईले परिवारको लालनपालन र शिक्षादीक्षा हुँदै आएको उनको भनाई छ ।

‘‘खेतीपाती र जनमन गर्न सिकिएन । घरमा भएको अन्न सकियो । ऐचोपैचो र उधारो पनि नपाउने अवस्था भयो । भोकले केटाकेटी र बृद्धबृद्धाहरु आत्तिन थालिकेको छन्”, सचिव रविन गन्धर्व पीडा सुनाउँदै भन्छन्, “सरकारका मान्छे र पार्टीका नेताहरु सबैलाई गुहारिसक्यौं, आश्वासन दिन्छन् तर राहत कसैले दिएनन् ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले हालसम्म पालिकामा राहतको माग गरेर कोही पनि नआएको बताए । “पालिकाभित्रका जनतालाई भोकले मर्ने दिँदैनौं”, उनले भने, “राहत वितरणको तयारी हुँदैछ, खाद्यान्न अभावमा कसैको घरमा चुल्हो बलेको छैन भने अनुगमन गरेर त्यो पनि व्यवस्था गर्छौं ।”

उनले पालिकाभित्र मजदूरी गरेर जीविकोपार्जन गर्नेहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम दिइरहेको बताए । गन्धर्व समुदायले रोजगार कार्यक्रममा सहभागी हुने अवसर पाएनन् ।

हालसम्म घर बाहिर ननिस्केका कारण गन्धर्व समुदायमा कोभिड–१९ को संक्रमण देखिएको छैन । राहत नपाए अब सारङ्गी बोकेर बाँच्नका लागि भए पनि गाउँतिर निस्कने सल्लाह भइरहेको उनले बताए ।

उनका अनुसार कचनकवल –२ मात्र ४५ घर परिवारका २०७ जना गन्धर्व जातिको बसोवास रहेको छ । यो जाति लोपोन्मुख जातिमा पर्ने भए पनि हालसम्म सूचीकृत हुन नसक्दा सामाजिक सुरक्षा भत्ता समेत उनीहरुले पाउन सकेका छैनन् । नेपालमा गन्धर्व जातिको कुल जनसंख्या ६६०० मात्र छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक मौलिकता बोकेको यस जातिको राष्ट्रमा छुट्टै पहिचान छ । रासस