झापा, जेठ २४ । झापाको भद्रपुर स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारका लागि खाद्यान्न सामग्री वितरण गर्न खाद्य बैंक स्थापना गरेको छ ।
माओवादी केन्द्र भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिरहेको छ ।
अभियानको पहिलो दिन १५० परिवारले खाद्यान्न सामग्री वितरण गरिएको नेकपा माओवादी केन्द्रका भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलले बताए ।
पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, सहयोगी एवम् शुभचिन्तकहरूबाट प्राप्त सहयोगबाट राहत जुटाइ विपन्न परिवारका खाद्यान्न सामग्री वितरण गरिएको इन्चार्ज सन्जेलले बताए ।
प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे (हिक्मत) को नेतृत्वमा भद्रपुर-४ स्थित पार्टी कार्यालयमा खाद्य बैंक स्थापना गरी प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर तेल, १ प्याकेट नुन वितरण गरेको कमिटीका सदस्य पुष्कर राजवंशीले जानकारी दिए ।
अति विपन्न परिवारका लागि निषेधाज्ञाभरि नै यो अभियान निरन्तर सञ्चालन गरिने अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।