स्वास्थ्य

कचनकवलमा सर्पदंश उपचार सेवा सुरु

झापा, असार ४ । झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । उपचार केन्द्रको बिहीबार एक कार्यक्रमका बिच संघीय सांसद राजेन्द्र लिङ्देनले गरेका हुन् ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसंगै विगत लामो समयदेखि सर्पको डसाइबाट अकालमै ज्यान गुमाउन बाध्य दक्षिणी झापाका बासिन्दाहरु सो समस्याबाट छुटकारा पाउने भएका छन् ।

एकसाता अघि मात्र कचनकवलमा सर्पको डसाइबाट दुई जनाको अकालमै मृत्यु भएको थियो । २/३ दिन अघि मात्रै पनि सिमा सुरक्षामा खटिएका एक जना सशस्त्र प्रहरी जवान सर्पको डसाइबाट सक्त घाइते भएका थिए ।

सर्पदंश उपचार केन्द्र सञ्चालन भएसंगै कचनकवलसहित बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने संघीय सांसद लिङ्देनले विश्वास व्यक्त गरे ।

लामो प्रयास र मेहनतपछि दक्षिणी झापाका कोहि पनि बासिन्दा सर्पको डसाइबाट अकालमै ज्यान गुमाउनु पर्ने छैन । प्रदेश सांसद बसन्त बानियाँले भने, अब सर्पदंश उपचार केन्द्रलाई सबैले साथ र सहयोग पुर्याउदै यसको संरक्षणमा लाग्नु पर्ने बताए ।

साथै उनले उपचार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको थियो । गाउँपालिका अध्यक्ष अन्जार आलमले भने, तर स्वास्थ्य विभागले अनुमति पत्र दिन ढिलाइ गर्दा सेवा भने सञ्चालन हुन सकिरहेको थिएन ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट जेठ २८ गते स्वीकृति पत्र प्राप्त भएपछि गाउँपालिकाले विधिवत् रूपमा नै उद्घाटन गरि सेवा प्रदान गरेको हो ।