झापा, श्रावण १ । झापाको दमक नगरपालिकाबाट ११ जना जुवाडेलाई नगद सहित पक्राउ परेका छन् ।
शुक्रबार साझ ६ बजे दमक ७ हाटखोला स्थित स्थानीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको भनी विशेष सुचनाको आधारमा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट २ लाख ८ हजार ९८ रूपैयाँ नगद सहित १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका घरधनी दमक —७ बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह —३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोहि ठाउँका ३८ वर्षीय इन्दुकुमार राजवंशी, इटहरी उपमहानगरपालिका —४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ्ग, गौरादह —२बस्ने ३२ वर्षीय निर्मल थापा, दमक—२ का बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, दमक—७ ४० वर्षीय राजन दाहाल, गौरादह— ३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक— ७ बस्ने ४४ वर्षीय गंगा पाठक, सुनसरी इटहरी उपमहानगरपालिका —१९ बस्ने २६ वर्षीय मिलन राई र दमक — ६ बस्ने ३३ वर्षीय विजय सिहं रहेका छन् ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।