मेचीनगर, असोज ७ । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड(१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ ।
नगरपालिका स्रोतले दिएको जानकारी अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान, वडा नं। ६ र ७ मा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरुलाई खोप लगाइएको छ ।
नगरभित्रका चिया बगामा कार्यरत मजदुरहरुलाई लक्षित गरेर सञ्चालन गरेको खोप अभियानमा बगान प्रशासनले सम्बन्धित वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने बताइएको छ ।
टोकला चिया कमानमा कार्यरत मजदुहरुलाई कारखानामै पुगेर त्यहाँ कार्यरत ३ सय ६८ जना मजदुरहरुलाई एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाइएको थियो ।
त्यसैगरी, सतिघट्टा चिया बगानमा कार्यरत ४ सय १९ जना मजदुरहरुलाई समेत भेरोसेलको पहिलो मात्रा लगाईएको थियो ।
साथै खोप लगाउन बाँकी रहेका चिया बगानका मजदुुर, विभिन्न सहकारी, डेरी उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई शुक्रबार खोप लगाउने तयारी गरिएको छ ।
त्यस्तै नगरपालिकाले आइतबारबाट वडास्तरीय खोप अभियान सुरु गर्ने भएको छ । नगरपालिकाले कोभिड(१९ विरुद्घको खोप सञ्चालनका लागि प्राथमिकताका आधारमा यातायात व्यवसायी, खेलाडी, चिया बगानमा कार्यरत मजदुर, सहकारी, उद्योग तथा कलकारखानामा कार्यरत मजदुर, उद्योगी, व्यवसायी, डेरी, उद्योग, सहकारी, क्यासिनो, होटलमा कार्यरत मजदुर र व्यवसायी,मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरशा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई राखेको छ ।
सो वर्गका करीब ६ हजार ६ सय ८० जनालाई कोभिड१९ विरुद्धको खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य शाखालाई उदृत गर्दै नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।