अर्थ विश्व

विश्वका धेरै तलब खाने यी ११ सरकार प्रमुख (नामावली सहित)

काठमाडौं । विश्वमा धेरै पैसा कसले कमाउला? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ। 

तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन्। यहाँ धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गरिएको छ। 

११. जस्टिन ट्रुडो 
जस्टिन क्यानडाका प्रधानमन्त्री हुन्। उनको तलब नै एकलाख ४६ हजार अमेरिकी डलरदेखि तीन लाख ६५ हजार डलरसम्म छ।

उनी २२ कोठे जर्जियन रिभाइभल आकर्षक भवनमा बस्छन्। ओन्टारियोस्थित ओटावमा रहेको रिडो हलको ग्राउन्डमाथि रहेको यसलाई रिडो कटेजका रुपमा चिनिन्छ। 

सन् १८६७ मा बनेको रिडो कटेजलाई सन् २००० मा फेरि रेनोभेसन (प्रबलीकरण) गरिएको थियो। यो घरको स्वरुप निकै आकर्षक छ। ट्रुडोलाई विश्व राजनीतिमा प्रिय नेता मानिए पनि सन् २०१७ मा विदा मनाउँदा एक लाख ७० हजार अमेरिकी डलर खर्च गरेका थिए।

यसमा उनको चर्को आलोचना मात्रै भएन, धेरै कानुनी प्रावधान उल्लंघनको आरोप नै लाग्यो। त्यस्तै अर्को पटक पारिवारिक भारत भ्रमणका बेला उनको १० लाख डलर खर्च भएको थियो। 

१०. योसिहिदे सुगा 
सुगा जापानका प्रधानमन्त्री हुन्। उनको तलब दुई लाख ५५ हजार अमेरिकी डलर छ। उनी विश्वकै ठूलो ट्विनजेट बोइङ ७७७ ३००ईआरमा भ्रमणमा निस्किन्छन्।

विमानमा प्रधानमन्त्री र उनका सहयोगीका लागि भीआईपी रुम र कार्यषेत्र छन्। त्यसमा १०६ बिजनेस क्लास सिट अतिथिहरुका लागि उपलब्ध छ। प्रधानमन्त्रीका लागि जापान सरकारले दुई बोइङ७७७ जेट उपलब्ध गराउँछ। एउटा मुख्य प्रयोग र अर्को ब्याकअपका लागि। 

९. अलेजेन्डर डि क्रु 
क्रु बेल्जियमका प्रधानमन्त्री हुन्। उनले २ लाख ६७ हजार अमेरिकी डलर तलब खान्छन्। लामो यात्रामा निस्किँदा उनी एयरबस ए३२१ प्रयोग गर्छन्। यसबाहेक उनीसँग डासल्ट फाल्कोन ९०, एउटा इम्ब्रायर ईआरजे १३५ र दुई इम्ब्रायर ईआरजे १४५ पनि छ। बेल्जियमको राजपरिवारले पनि यी जहाज नै प्रयोग गर्छन्। 

८. जाभियर बेटेल 
बेटेल लक्जेम्बर्गका प्रधानमन्त्री हुन्। उनको तलब २ लाख ७१ हजारदेखि ३ लाख ४० हजार अमेरिकी डलरसम्म छ। उनी विश्वभ्रमणमा निस्किँदा निजी सेस्ना ५५० साइटेसन२, लक्सएयरबाट चार्टर गरिएको एउटा लियरजेट ३५ए र ७३७–७०० विमान प्रयोग गर्छन्। उनी लक्जेम्बर्गका पहिलो र युरोपका तेस्रो गे (समलिंगी) प्रधानमन्त्री हुन्। 

७. जसिन्डा आर्डेन
आर्डेन न्युजिल्यान्डकी प्रधानमन्त्री हुन्। उनी वर्षमा ३ लाख २४ हजार अमेरिकी डलर तलब खान्छिन्। प्रधानमन्त्रीको कार्यकाल खाँदै गर्दा आमा समेत बनेकी थिइन्। यसअघि पाकिस्तानी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि प्रधानमन्त्री रहेकै बेला सन्तान जन्माएकी थिइन्। 

सन् २०१९ मा १५ महिलालाई फिचर गर्दा बेलायती चर्चित म्यागजिन भोगमा उनी पनि एक थिइन्। महामारीका बेला आर्डेनले न्युजिल्यान्डका तलब गुमाएका वा कटौतीमा परेका ५ लाख नागरिकको पक्षमा समर्थन जनाउँदै आफ्नो २० प्रतिशत तलब काटेकी थिइन्। 

६. सेबास्टियन कुर्ज 
कुर्ज अस्ट्रियाका चान्सलर हुन्। उनको तलब ३ लाख २८ हजार ६ सय अमेरिकी डलर छ। अस्ट्रिया सरकारले भीआईपी ट्रान्सपोर्ट एयरक्राफ्ट कहिल्यै सञ्चालन नगरेको कारण अस्ट्रियाका प्रमुखले सामान्य तया तालिकाअनुसारको उडान गर्छन्। धेरैजसो राष्ट्रिय ध्वजावाहक विमान अस्ट्रियन एयरलाइन्स प्रयोग गर्छन्।

तर आधिकारिक कामका लागि घरेलु यात्रामा निस्किँदा भने कुर्जलाई अस्ट्रियन एयरफोर्सको चार सिटे साब १०५ ओई चार्टर गर्न अनुमति छ। उनी ३५ वर्षमै सरकार प्रमुख बनेर चर्चा कमाएका थिए। 

उनी बेलाबखत हुने नराम्रा काण्डका कारण पनि चर्चामा आएका छन्। अहिले कुर्जले चान्सलरको रुपमा अस्ट्रियन नागरिकले औसतमा कमाउनेभन्दा छ गुणा धेरै आम्दानी गरिरहेका छन्। 

५.एंगेला म्यार्केल 
म्यार्केल जर्मनीकी चान्सलर हुन्। उनी वार्षिक ३ लाख ६९ हजार ७ सय अमेरिकी डलर तलब लिन्छिन्। म्यार्केल एयरबस ए३४०–३१३एक्स भीआईपी विमानमा यात्रा गर्छिन्। तर उनीसँग जर्मन आर्म्ड फोर्सका महंगा विमानमा समेत पहुँच छ। उनी सन् २००५ मा जर्मनीको पहिलो चान्सलर बनेकी थिइन्। यो उनको चौथो र अन्तिम कार्यकाल हो।

भर्खरैको चुनावमा उनको पार्टीले पराजय भोगेको थियो। उनलाई विश्वकै प्रभावशाली महिला नेत्री मानिन्छ। सत्तामा रहँदा नै उनले धेरै सम्पत्ति आर्जन गर्न सफल भएकी छिन्। उनले औसत जर्मन नागरिकले कमाउनेभन्दा आठ गुणा धेरै कमाउँछिन्। 

४. स्कट मोरिसन 
मोरिसन अस्ट्रेलियाका प्रधानमन्त्री हुन्। उनको वार्षिक तलब ३ लाख ९५ हजार ५ सय अमेरिकी डलर छ। उनी दुई भव्य सरकारी महलमा बस्न पाउँछन्।

उनी मुख्यगरी द लज भन्नेमा बस्छन् भने सिडनी हार्बरमा रहेको दोस्रो किरिबिल्ली हाउसमा पनि बस्छन्। उनी अस्ट्रेलियाका ३०औँ प्रधानमन्त्री हुन्। उनले अस्ट्रेलियाको औसत तलबभन्दा छ गुणा धेरै कमाउँछन्। जलवायु परिवर्तनको मुद्दामा उनले आलोचना खेप्दै आएका छन्। 

३. जो बाइडेन 
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् जो बाइडेन। उनको वार्षिक तलब नै ४ लाख अमेरिकी डलर छ। अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस छ तलाको छ भने यसमा १३२ कोठाहरु छन्।

यसबाहेक बाइडेनले विश्वप्रसिद्ध एयरफोर्स वान प्रयोग गर्छन्। यो विमानमा चार हजार वर्गफिटको तीन तला त छँदै छ, त्यसभित्रै मेडिकल रुमको व्यवस्था छ जहाँ आकस्मिक शल्यक्रिया गर्न सकिन्छ। राष्ट्रपतिका लागि प्राइभेट सुइट्स र किचेन पनि यसभित्रै छ।

जहाँ एकैपटक सय जनालाई खाना खुवाउन सकिन्छ। यसलाई विश्वकै उच्च क्षमता र विलासी विमानका रुपमा लिइन्छ। वार्षिक ४ लाख डलर राम्रो तलब हुँदाहुँदै अमेरिकी राष्ट्रपतिहरुले कार्यकालपछिका परियोजनाहरुबाट बढी पैसा कमाउँछन्। 

२. क्यारी लाम 
हङकङकी यी प्रमुख कार्यकारीको तलब कति होला? उनको तलब अमेरिकी राष्ट्रपतिको भन्दा पनि धेरै छ। अर्थात् उनी वार्षिक ६ लाख ७२ हजार अमेरिकी डलर तलब बुझ्छिन्। उनी लेक्सस एलएस६००एच एल हाइब्रिड कारमा हुइँकिन्छिन्। कहिलेकाहीँ सन् १९९७ मर्सिडिज बेन्ज एस५००एल पनि चढ्छिन्। तर उनको सवारीसाधनमा नम्बर प्लेट हुँदैन।

यसरी हिँड्दा उनी बेलायती राजपरिवारको प्रतिनिधिको छनक देखिन्छ। हङकङकी पहिलो महिला नेत्रीलाई ‘टफ फाइटर’को उपनामले पनि चिनिन्छ। राजनीतिक मुद्दामा कहिल्यै पछि नहट्ने उनलाई निडर नेत्री मानिन्छ। सन् २०१७ मा प्रमुख कार्यकारी बनेयता उनको तलबमान १२.४ प्रतिशतले बढेको छ।

उनी सबै प्रयोजनमा नोट पैसा नै प्रयोग गर्छिन्। उनको घरमै धेरै क्यास (नोट) राख्छिन्। उनीसँग बैंक खातै छैन। 

१. ली सिन लुङ 
ली सिंगापुरका प्रधानमन्त्री हुन्। उनी वार्षिक रुपमै १६ लाख अमेरिकी डलर बुझ्छन्। उनी ४३ हेक्टर (१०६ एकड) जमिनमा बनेको भव्य द इस्ताना कार्यालयमा काम गर्छन्।

यो मलाया शैलीमा निर्माण भएको छ। तीनतले भवनले २१ सरकारी कार्यकाल र आठपटक राष्ट्रपतीय कार्यकालको सेवा गरेको छ। उनको तलब तौलिने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भन्दा १२ गुणा धेरै हो। (साउथ चाइना मर्निङ पाेस्ट)